भनिन्छ, ‘हरेक बिहानीले सुनौला दिनको संकेत गर्छ ।’ तर सन् २००५ को एक बिहान लक्ष्मी अग्रवालका लागि काल बनेर आयो । आफ्नो सुन्दरता सदासदाका लागि गुमाउनु पर्यो । बाँकी रह्यो त देख्दै डरलाग्दो एसिडले डढेको अनुहार । आधा चुँडिएको कान । उफ् कति कहालिलाग्दो बिहान । अझ समाजको भाषामा ‘भूत जस्तै स्वरूप’ । एसिडले अनुहार र छाला मात्रै डढाएन। डढायो फूल जस्तै फक्रने सपना । आफन्त, साथी सर्कल र जिन्दगीको सुखद पल । एसिडसँगै डगमगायो सफलताको आकाशमा उडान भर्ने आत्मविश्वास पनि ।
भारतको नयाँ दिल्लीमा एसिड आक्रमणमा परेकी थिइन् लक्ष्मी । उनी अहिले मोटिभेसनल स्पिकरको रूपमा चर्चित छिन्। लक्ष्मीले भोगेको एसिड अक्रमणको पीडा, कानुनी लडाइँसँगै झमेला, दुःख, अभाव र संघर्षको कथालाई सलल बुनिएको छ फिल्म ‘छपाकमा’ । लक्ष्मीको कथा बोक्ने पात्र हुन् मालती । मालतीको भूमिकामा दीपिका पादुकोणले अभिनय गरेकी छन् । दीपिकाले मालतीमाथि पूरापूर न्याय गरेकी छन् ।
फिल्मको कथाअनुसार १५ वर्षकी मालती निम्नवर्गीय परिवारमा हुर्किएकी छन् । स्टेसनरीमा काम गर्दै आफ्नो अध्ययन अगाडि बढाउँदै छिन् । आमाबुवाको नाम चम्काउने सुरमा छिन् उनी । इन्डियन आइडलको उपाधि जित्ने सपना उनको रहरसँगै जुर्मुराएको छ । बिहानको कलेज गएर फर्कंदा मोटरसाइकलमा आएको कसैले अनुहारमै पर्ने गरी एसिड छ्यापेर भाग्छ ।
एसिडको पीडाले उनी बाटोमै ढल्छिन्, छट्पटाउँदै डाँको छाडेर रुन्छिन्। यही दृश्य र रोएको आवाजसँगै फिल्मको कथावस्तु अगाडि बढ्छ । उनको क्रन्दनले घटनास्थल कहालिलाग्दो बनेको छ। बाटो हिँड्दै गरेका बटुवा टक्क रोकिन्छन् । यस्तो लाग्छ, उनको पीडामा हावाले पनि बहन बिर्सिएको छ । गाडी गुड्न रोकिएका छन् । एक्कासि आइपरेको यो बज्रपातले मालतीलाई कहाँ पुर्याउँछ ? उसको सामाजिक, मानसिक र कानुनी लडाइँको समग्र सँगालो हो फिल्म छपाक ।
संसारभर एसिड आक्रमणका घटना बढी हुने देशमा बंगलादेश र भारत पर्छन् । त्यसो त नेपालमा पनि पछिल्लो समय एसिड आक्रमणजस्तो जघन्य अपराध मौलाउँदै गएको छ । करिब चार महिना अघिमात्रै वीरगन्जकी मुस्कान खातुन आक्रमणमा परिन् । यसअघि जेनी खड्का, सम्झना, सुस्मिता दासलगायत माथि पनि एसिड आक्रमण भएको थियो । सम्झना त एसिडकै कारण जीवन गुमाउन बाध्य भइन्। भारतमा बर्सेनि तीन सयभन्दा बढी एसिड आक्रमणका घटना दर्ता हुन्छन् । एसिड आक्रमण प्रायः युवतीमाथि हुने गरेको छ । एकोहोरो प्रेम गर्ने र आफ्नै श्रीमान् र आफन्तबाट आक्रमणमा पर्ने धेरै छन् ।
एसिड आक्रमण घटना न समाजमा चर्चा गरिन्छ, न त सरकारले नै कुनै सहानुभूति र सहयोग गर्छ । आक्रमणमा परेका महिला पुरानै जिन्दगीमा फर्कन सम्भव प्रायः छैन । चोटको दुखाइ त कम हुन सक्ला तर दागसँगै उसको जीवनमा देखिने अँध्यारो पक्षबारे हामी बेखबर छौं । एसिड पीडितले भोग्नुपर्ने खास जिन्दगीलाई प्रदर्शनरत फिल्म ‘छपाकले’ समेटेको छ । निर्देशक मेघना गुलजारले निर्देशन गरेको यो फिल्ममा गुलजार र अतिका चौहानको पटकथा छ ।
फिल्ममा दीपिका पादुकोणकोलाई एसिड छ्याप्ने पात्रको रूपमा बब्बु ‘विशाल दहिया’ को अभिनय छ । एसिड पीडितलाई उपचारमा सहयोग, कानुनी लडाइँ अगाडि बढाउन छाया नामक संस्थाले सहयोग गरेको छ । मालतीको यही संस्थामा भेट हुन्छ, अमूल ‘विक्रान्त मास्से’ सँग । अमूलसँगको भेट, अधिवक्ता अर्चनाको साथ र हौसलाले मालतीको हिम्मत बढ्छ ।
मालतीको सात पटकसम्म अप्रेसन गरिएको छ । कहिले अनुहार, कहिले छाती, हात, त कहिले कान । अस्पतालको चारमहिने बसाइपछि उनलाई घर पुर्याइन्छ । डाक्टरकै अनुरोधमा घरमा भएको उनका पुराना फोटा सबै लुकाइन्छ । घरमा रहेको ऐना पनि छोपिन्छ । एक दिन उनले बेसिनमाथि छोपिएको ऐना उठाउँदै आफ्नो अनुहार हेर्छिन्, अनि कहालीलाग्दो गरी चिच्याउँछिन् । अनुहार हेरेर उनले धेरैपटक हिम्मत हारेकी छन् । यो मालतीको कथा मात्र होइन, मालती जस्तै एसिड आक्रमणमा पर्ने तमाम महिलाले भोगेको जीवन हो। उनको रोदनले दर्शकको आँखामा आँसु झार्छ । फिल्ममा यस्ता अनेकौं दृश्य छन् जसले दर्शकको मन छुन्छ ।
फिल्म क्षेत्रले समाजका कथा बोक्दैन भन्ने आरोप खेपिरहँदा निर्देशक मेघनाले यो आरोपलाई जवाफ दिएकी छन् । सामाजिक कथावस्तुमा दमदार फिल्म निर्माण गरेकी छन् । उनले हरेक घटना, संवाद र दृश्यलाई मानवीय आँखाले हेरेकी छन् । फिल्मको कथामा समाजले महिलालाई हेर्ने दृष्टिकोण, सामाजिक संरचना र सोच, महिला हिंसा कसरी समाजको हिस्सा बन्न सक्छ प्रमाणित गरेको छ ।
लक्ष्मीकै निरन्तरको कानुनी लडाइँमार्फत सन् २०१३ देखि भारतमा खुलेआम एसिड बिक्री वितरणमा रोक लगाएको हो । एसिड आक्रमणको अपराधसमेट्न छुट्टै कानुनको निर्माण भएको छ अहिले ।
घरमा सुतिरहेको बेला मालतीलाई अधिवक्ता अर्चना भेट्न आउँछिन् । पुलिस प्रशासनको फितलो अनुसन्धान, पीडितमैत्री नभएका अनुसन्धानकर्ता, उनीहरूले बारम्बार गर्ने प्रश्नले मालती थकित देखिएकी छन् । ‘तिमी उसलाई यत्तिकै छाडिदिन्छौ’, अर्चनाले प्रश्न गर्छिन् । मालती चुपचाप छिन् । तिमीमाथि एसिड छ्याप्ने आजाद भएको हेर्न सक्छौ ? पुनः अर्को प्रश्न । मालती निशब्द छिन् । उनका आँखा बोल्न खोजिरहेका छन् । आँखामा आँसु टिल्पिलाउँछ ।
मालतीलाई साथ दिन आएका छन् अधिकारकर्मी र वकिल । सबैको साथले मालती पुनः उठेकी छन् । कठिन समयमा पनि आफूजस्तै दिदीबहिनीका लागि लड्ने संकल्प गरेकी छन् । भन्छिन, ‘उसले मेरो अनुहार बिगार्यो, मन होइन ।’ अन्नपूर्ण पोस्ट





















प्रतिक्रिया