भारतको केरलाबाट नेपाल घुम्न आएका ८ भारतीय पर्यटकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मकवानपुरको एक होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्लाको थाहा नगरपालिका–४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान उनीहरु बेहोस अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । उनीहरु २ परिवारका सदस्य रहेको बताइएको छ ।
दामनको एभरेष्ट पानोरामा रिसोर्टमा राती ९ः३० बजे बास बस्न पुगेका १५ भारतीय पर्यटकले ४ वटा कोठा बुक गरेका थिए । उनीहरु ४ परिवारका सदस्यहरु रहेको एभरेष्ट पानोरामा होटलका म्यानेजर शिव केसीले जानकारी दिए ।
जाडो बढेपछि भारतीय पर्यटकहरुले राति रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर आफ्नो कोठामा लगेका थिए । रेष्टुरेण्टका कामदारले लैजान नदिएपनि उनीहरुले बच्चालाई चिसो लाग्यो भनेर जबरजस्ती उक्त हिटर लिएर गएको, म्यानेजर केसीले बताए ।
त्यसपछि उनीहरु २ परिवारका सदस्यहरु एउटै कोठामा सुतेको पाइएको म्यानेजर केसीले बताए । बिहान ८ बजेसमम पनि उनीहरु नउठेपछि समूहकै अन्य सदस्यले ढोका ढकढक गर्दा पनि खोलिएन ।
त्यसपछि उनीहरुले ढोका फोडी हेर्दा अचेत अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार ग्याँस हिटर बाली कोठाको झ्याल र ढोका सबै बन्द गरिएकाले अक्सिजनको अभाव भई पर्यटकको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
मुत्यु हुनेमा वर्ष ३८ का रञ्जित कप, वर्ष ३४ इन्द्र, वर्ष ५ अभी, वर्ष ७ अर्चना, वर्ष ५ वैष्णव, वर्ष ३७ प्रविन र वर्ष ३२ सरिया रहेको र बाँकी पुष्टि हुन नसकेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको नाम र ठेगाना खुलेको छैन । मृत्यु हुनेमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् ।




















प्रतिक्रिया