सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथि आज सर्बाेच्चमा सुनुवाई हुँदै छ । सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा परेको थियो । तर उनले सुनुवाई नगर्ने भएका छन् । सर्बाेच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्काे मुद्दामा कानुन व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण फुँयालले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ ।
सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर रिट दायर गरेका थिए । उक्त सुनुवाइ फुयाँलको एकल इजलासमा तोकिएको थियो । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका छन् ।
फुँयालको इजलासमा आज सुनुवाइ नहुने निश्चित भएको छ । प्रतिनिधिसभाबाट आज दिउँसो ३ बजो सापकोटा सभामुखमा निर्वाचित निश्चित छ । स्रोतका अनुसार, सर्बाेच्चमा न्यायाधीश हरिकृष्ण कार्की र हरि फुँयाल दुवैले सापकोटाविरुद्धको मुद्दा हेर्न मिल्दैन । दुवै न्यायाधीशले सर्वाेच्चमा आउनुअघि सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको मुद्दामा बहस गरेका थिए ।
यसकै कारणले सापकोटाविरुद्धमा परेको रिटको आज सुनुवाई हुने वा नहुने अन्यौल भएको छ । सुनुवाई गर्नैपरे कसको इजलासबाट सुनुवाई गर्ने भन्नेमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।





















प्रतिक्रिया