गायिका आस्था राउतलाई हिरासतमा राख्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । महिला प्रहरी जवानलाई अभद्र व्यवहारको कसूर सम्बन्धी राउतविरुद्ध परेको जाहेरीमाथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले अन्य मुद्दामा जस्तै राउत प्रकरणमा पनि कानुन अनुसार प्रहरी अघि बढेको बताए । म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा लैजाने तयारी भइरहेको छ ।
यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।
त्यसपछि यो प्रकरण बाहिर आएको थियो । राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
सामान्य विवादमा पक्राउ पूर्जी जारी गरेको भन्दै प्रहरीको आलोचनासमेत भएको थियो । त्यसपछि केही लचक बन्ने संकेत प्रहरीले दिएको थियो । सोहीअनुरुप प्रहरीले विमानस्थलमा राउतलाई पक्राउ गरेन । सोमबार बिहान ८ बजे आफन्तसहित महानगरीय प्रहरी परिसर, टेकु पुगेर उनले आत्मसमर्पण गरिन् ।















प्रतिक्रिया