नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा हुँदैछ । महाधिवेशनमा नेतृत्व लिनका लागि एकातिर पार्टी सभापति शेरबहादुर देउवा लागेका छन् भने अर्को पक्षबाट साझा उम्मेदवार को बन्ने भन्ने अहिलेसम्म टुंगो छैन ।
सभापति देउवा आफू नै एकमात्र सभापतिको उम्मेदवार भएको भन्दै ढुक्क बनेका छन् । उता अर्को पक्षबाट महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला अघि देखिएका छन् । सशांकले सभापतिको उम्मेदवार हुँ भनेर नभनेपनि महामन्त्री भइसकेकाले उनलाई स्वभाविक उम्मेदवारका रुपमा हेरिएको छ । उनका निकटहरु भनें सशांक सभापतिको निर्विकल्प उम्मेदवार भएको दावी गर्छन् । हुन त सशांकको यो महामन्त्रीको समय पनि प्रभावकारी बन्न सकेन । सभापतिको लागि आफूलाई प्रस्तुत गर्न सकेनन् तरपनि विपी कोइरालाको छोरो भएकाले गर्दा पनि उनी कार्यकर्ताको मन जित्न सफल भएका छन् । १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार भइरहँदा पनि उनले कुनै नेता तथा कार्यकर्तासँग मत मागेनन् ।
यता शेखर पनि अहिले देशव्यापी रुपमा लागिरहेका छन् । विभिन्न जिल्लामा पुगेर नेता कार्यकर्ता भेट गर्दै आएका उनी जुनसुकै मूल्यमा पनि सभापति उठ्ने बताइएको छ । कोइराला परिवारसँग नेपाली कांग्रेसको इतिहास जोडिएकाले पनि उनीहरुलाई राजनीति गर्न थप सहज भएको छ । पूर्व उपप्रधानमन्त्रीसमेत भइसकेकी गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता भने राजनीतिमा ओझेलमा परेकी छिन् । बुबा रहँदा राजनीति टिकेको उनी अहिले संकटमा परेकी छिन् । कहिलेकाँही सबै कोइराला भेला भएर हामी अब मिल्यौं भनेर सन्देश दिएजस्तो गर्छन् तरपनि पत्याउने आधार भने त्यति धेरै छैन ।
कांग्रेसमा केही यस्ता नेता छन् जो जुन समूहमा लाग्यो, उसकै पक्षमा मतदान हुने गरेको छ । हिजो खुमबहादुर खड्का अग्रपंक्तिमा पर्दथे, उनले सबै नेता कार्यकर्ताको विश्वास जित्न सफल भएका थिए । अहिले अर्जुननरसिहं केसी, गगनकुमार थापाले आफ्नो प्रभाव जमाएकाले कार्यकर्तालाई आफूतिर आकर्षित गर्न सकेका छन् । हिजोको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको तेश्रो धारबाट उठेका थापा अहिले भने पूरै अलमलमा परेका छन् । सिटौलाकै पछि लागेर आगामी अधिवेशनमा केही पनि नपाइने हुनाले अब गगनले सिटौला क्याम्प छोडेका छन् । गगन जुन समूहमा गएपनि त्यो समूहलाई फाइदा हुने हुँदा उनलाई लिन जो पनि तयार छन् ।
१३ औं महाधिवेशनमा गगनका ससुरा अर्जुननरसिंह केसी देउवाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए, थापा र केसीलाई परास्त गर्दै कोइराला महामन्त्री बनेका हुन् । गगनलाई आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा हेरिएको छ । उता अर्कोतिरबाट महामन्त्रीमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा उठ्ने सम्भावना छ, थापा र शर्माबीचको प्रतिस्पर्धालाई पनि निकै रोचकताका साथ हेरिएको छ ।
अर्कातर सिटौला पनि अहिले संकटमा परेका छन् । महाधिवेशनमा निर्णायक भूमिका नहुने भएपछि आफूलाई साथ छोडेकाहरुलाई फकाउन उनी लागिपरेका छन् । सिटौलालाई बोक्दै आएका थापासहित केन्द्रीय सदस्य प्रदीप पौडेल, नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेलगायत पनि अहिले फरक बाटोमा लागिसकेका छन् । सभापति उठिसकेकाले अब त्योभन्दा तल झरेर सिटौलाले उम्मेदवारी दिन नमिल्ने भएपछि उनी कुनै समूहसँग ‘बार्गेनिङ’ गरेर आफ्ना मान्छेको व्यवस्थापनमा लागेका छन् ।
कांग्रेसको निर्वाचित कार्यकाल सकिएको छ । विधान अनुसार १ वर्षे कार्यकाल थपिएको छ । अरु सभापतिले सुविधा लिएजस्तै देउवाले पनि यही बाटो अंगालेका छन् । राजनीतिमा माहिर खेलाडीका रुपमा चिनिएका देउवा जसरी भएपनि सभापति जित्छु भन्नेमा ढुक्क छन् । उता यो महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर हारेका रामचन्द्र पौडेल अहिले गुमनामजस्तै छन् । उनको नाम बेचेर अरु नेताले धेरै फाइदा लिएपनि त्यो अभियानले पौडेललाई भने कुनै पनि फाइदा पुगेको छैन । प्रतिनिधिसभाको निर्वाचनमा तनहुँबाट पराजित भएपछि पौडेल झन् कमजोर बनेका छन् । पौडेल सानो सोच भएका र कार्यकर्तालाई अनुदार गर्ने नेताका रुपमा चर्चित छन् । पौडेलकै ठाउँका केन्द्रीय सदस्य शंकर भण्डारीले भनें आफूलाई स्थापित गर्दै लगेका छन्, उनी कार्यकर्ता र जनताको भावनाको कदर गर्ने कला जान्दछन् ।
महाधिवेशन आउन लागेपछि अहिले नेताहरु देश दौडाहामा लागेका छन् । हिजोको दिनमा मनोनीत गर्ने संख्या धेरै भएपछि नेताको चाकडी र चाप्लुसीमा लाग्नेहरु पनि अहिले जिल्ला भ्रमणमा निस्कन वाध्य भएका छन् ।





















प्रतिक्रिया