पछिल्लो एक हप्तामा नेपालमा देखिएका कोरोना भाइरस (कोभिड-१९) को आउटब्रेकले यसको नियन्त्रणका लागि जुटिरहेका सरकारी अधिकारीलाई झस्काएको छ । यसको नियन्त्रणमा लागिरहेका सरकारी अधिकारी र जनस्वास्थ्य विज्ञलाई पनि सोच्न बाध्य बनाएको छ ।
विरगञ्जदेखि कैलाली पुगेकी ६५ वर्षीय वृद्वामा देखिएको संक्रमण उनलाई भएको संक्रमणको स्रोत अझै पत्ता लागेको छैन् । त्यस्तै रौतहटको १९ वर्षीय युवामा भएको कोरोना संक्रमण उनी क्वारेन्टाइनमा बसेका कारण अरुमा भाइरस ट्रान्समिसन भएको हुनसक्ने सम्भावना कम छ । तर लकडाउनको समयमा भारतबाट लुकिछिपी मानिसहरू आइरहेका छन् र भोलिका दिनमा पनि आउन सक्छन् भन्ने देखायो किनकि उनी लकडाउन जारी भएको समयमा १६ चैतको मध्यराति नेपाल प्रवेश गरेका थिए ।
चैतमा बेलायत आएका तीन जनालाई र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो । तर पीसीआरमा जाँच गर्दा दुई जनाको पोजेटिभ र एक जनाको नेगेटिभ देखियो । यो केसलाई स्वास्थ मन्त्रालयले आयातित घोषणा गर्दै कोरोना भाइरसले चीनबाट युरोप हुँदै दक्षिण एसिया छिर्दा रुप परिवर्तन गरेको निष्कर्ष निकाल्दै पुरानो मान्यतालाई मात्रै आधार मानेर नपुग्ने जनाएको हो ।
यी तीन केसले कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले बनाएको रणनीति र पूर्वतयारी अपर्याप्त देखायो । त्यही कारण स्वास्थ तथा जनसंख्या मन्त्रालयले नयाँ रणनीति बनाउन बुधबार कोरोना भाइरस सँग सम्बन्धित विज्ञहरूले सरकारले गरिरहेको कामको समिक्षा गर्दै आगामी बाटोको बारेमा समेत धारणा लिएको छ ।
छलफलमा स्वास्थमन्त्री भानुभक्त ढकाल सहित मन्त्रालयका पदाधिकारीहरूका साथै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइराला, अर्जुन कार्की, महेश मास्के, शरद वन्त, सुशन मराठ्ठा, डा. लोचन कार्की, संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीलगायतका विज्ञहरू पनि उपस्थित थिए । छलफलले सरकारले आफ्नो रणनीतिमा थोरै परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
उक्त छलफलको निष्कर्ष अनुसार विज्ञहरूले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् भने सरकारले पनि त्यस्तै गर्ने तयारी छ । समुदायको कुनै एक व्यक्तिमा संक्रमण देखिनासाथ समुदाय नै सिल गरेर सबैको परिक्षण गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसो गर्न सकियो भने समुदायमा कोरोनाको संक्रमण फैलने सम्भावनालाई रोक्न सकिने सुझाव दिएको छ ।
सरकारले लकडाउन घोषणा गरेपछि लकडाउन खुलाउने मोडल बारे पनि सबैले आ-आफ्नो मत दिएका छन् । लामो छलफलको निष्कर्ष छ वैशाख १५ गतेपछि लकडाउनको मोडल फरक हुने अहिले जस्तो चारैतिर बन्द गरेर समस्या समाधान नहुने विज्ञहरूको निष्कर्ष छ । अहिलेसम्मको लकडाउन व्यवस्थित नभएर भद्रगोल र लथालिङ्ग भएको समेत ठहर गरेको छ ।
अब हुने लकडाउन जुन ठाउँमा संक्रमण देखिन्छ, त्यस ठाउँलाई सिल गरेर सबैको परिक्षण गर्ने र त्यसको नतिजाको आधारमा मार्किङ गर्ने बाटो हुनसक्छ । संक्रमण नदेखिएको तर सम्भावना भएको ठाउँहरूमा पनि र्यापिड टेस्ट गरेर मार्किङ गर्नु उपयुक्त हुने छलफलको निष्कर्ष निकालेको छ । यसरी परिक्षण गरेपछि रेड, एल्लो र ग्रीन जोन गरेर मार्किङ गर्ने तयारी छ ।
रेड जोन निर्धारण गरेको क्षेत्रमा लकडाउन कडा गर्ने एल्लो जोनमा खुकुलो बनाउने र ग्रीन जोनमा झन् खुकुलो बनाउने । रेड, एल्लो र ग्रीन जोन निर्धारण गरेपछि मात्रै लकडाउनको नयाँ मापदण्ड निर्धारण गर्ने सरकारको तयारी छ । कोरोनाको जोखिम नभएको ठाउँमा पनि लामो समयसम्म लकडाउन गर्दा देशको अर्थतन्त्रमा घाटा पर्ने निष्कर्ष निकालेर विज्ञहरूले यो सुझाव दिएका हुन् ।




















प्रतिक्रिया