Logo

प्रदेश

लकडाउन थपिएपछि पैदल घर हिँडेका युवाको पुलबाट खसेर मृत्यु



कोरोना भाइरसका कारण लकडाउनले काम गर्ने ठाउँमा थुनिएपछि पैदलै घर फर्किँदै गर्दा धादिङको ज्वालामुखी गाउँपालिका – ५ खरीका एक युवाको पुलबाट खसेर मृत्यु भएको छ । चितवनमा मुजदूरी गर्दै आएका ३८ वर्षीय होमबहादुर रानाको आफ्नै गाउँनजिकैको बुङकोटघाट पुलबाट खसेर मृत्यु भएको हो । ज्वालामुखी गाउँपालिका-५ स्थित बाँझोघर स्थाई घर भएका राना रोजगारीको लागि सपरिवार चितवनमा बस्ने गर्दथे ।

रानाले बुधबार (३ वैशाख) राति आफू घर आइरहेको जानकारी परिवारलाई गराएका थिए । रानाले परिवारलाई आफूलाई लिन बुङ्कोटघाटसम्म आउन भनेपछि उनको परिवार बुधबार राति नै बुङकोटघाट पुलमा पुगेको थियो । बुधबार राती साढे ८ बजेसम्म सम्पर्कमा रहेका रानाको त्यसपछि फोन उठेको थिएन ।

चेकजाँच कडाइ गरिएकाले गोरखापटी नै बसेको हुनसक्ने आशङ्कामा पुलसम्म लिन गएका परिवारका सदस्य पनि घर फर्किएका थिए। बिहीबार बिहान भने पुलमुनि मृत अवस्थामा रानाको शव फेला परेको थियो । मृतक राना लकडाउनअघि परिवारसहित चितवनमा बस्दै आएका थिए। लकडाउनअघि नै उनको परिवार गाउँ फर्किए पनि उनी भने केही दिनमा लकडाउन खुल्ने आशामा चितवनमै बसेका थिए । लकडाउन थपिँदै गएपछि उनी पैदलै हिडेर गाउँ फर्किएका थिए।

मंगलबार ज्वालामुखीमा गरिएको र्‍यापिड टेष्टमा एक जनामा कोराना पोजेटिभ देखिएपछि गोरखापटीबाट आवतजावत प्रवेशमा कडाइ गर्दै पुलमा छेकबार लगाइएको थियो । बागमती प्रदेश र गण्डकी प्रदेशको सिमाना रहेको बुङ्कोटघाटस्थित बुढीगण्डकी नदीमाथिको पक्कि र झोलुङगे दुवै पुलबाट हुने आवतजावतमा कडाई गर्दै स्थानीयले छेकबार लगाएका थिए।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार १८:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।