इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल सरकारले गरेको लकडाउनको समयमा पनि ग्राहकहरूलाई सुविधा दिनको सट्टा ठगी गर्न उद्दत भएको ग्राहकहरुको गुनासो छ ।
‘जडान गर्ने बेलामा सम्झौता भएको स्पिड दिन नसक्नु त अब वर्ल्डलिंकको पहिचान नै बनिसकेको छ । जतिबेला आफूलाई अत्यावश्यक हुन्छ त्यतिबेला नै नेटको स्पिड लगभग शुन्य बराबरै हुन्छ । कुनै फाइल डाउनलोड अथवा अपलोड हुँदा तोकेबमोजिम स्पिड नहुनु त छदैछ । सामन्य काम गर्न समेत मुस्किल छ ।’ भक्तपुरको कौशलटार निवासी एक प्रयोगकर्ताले भने ।
इन्टरनेटमा कुनै समस्या आएर त्यसबारे जानकारी दिन / गुनासो टिपाउन फोन गर्दा समेत झन्झट भएको ग्राहकहरूको गुनासो छ । यसतर्फ कम्पनीले चासो नदेखाएको ग्राहकहरूको भनाइ छ । सरकारले सबै इन्टरनेट प्रदायकहरूलाई लकडाउनका बेलामा राम्रो सेवा दिन अनुरोध गरेपनी त्यसको वर्ल्डलिंकले त्यसको धज्जी उडाएको छ ।
लकडाउनको बेलामा नेटको पैसा नतिरेको भन्दै सेवा बन्द गर्ने गरिएको अधिकांशको गुनासो छ । ‘एकाउन्टमा ब्यालेन्स छैन, बाहिर गएर तिरौं भने लकडाउन छ, बाहिर निस्कने अवस्था छैन् ।’ एक ग्राहकले गुनासो पोखे । यसका लागि पटकपटक वर्ल्डलिंकमा फोन गर्न प्रयास गर्दा एकाउन्ट सेक्सनले फोन नै रिसिभ नगरेको उनको भनाइ छ ।
यस्तो विपदको घडीमा समेत ग्राहकको मनोभावना बुझेर बुझ्न नसकेको भन्दै लकडाउनको बेलामा समेत ठगी गर्न उद्दत रहेको वर्ल्डलिंकलाई कार्वाही गर्न आवश्यक रहेको केही सेवाग्राहीहरूको बुझाई छ ।





















प्रतिक्रिया