चरिकोट — सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले सदर गरिदिने दाबी गरेका छन् ।
दोलखाको चरिकोटमा आइतबार नेकपा ओली समूहको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संसद् विघटन राजनीतिक मुद्दा भएकाले सर्वोच्च अदालतले सदर गरिदिने दाबी गरे । ‘प्रधानमन्त्री आफू अल्पमतमा भएर संसद् विघटन गरेको होइन, बहुमतमा भएरै संसद् विघटन गरेका हुन्’, उनले भने, ‘६४ प्रतिशत बहुमत भएर परिस्थिति र राजनीतिक हिसाबले गरेको संसद् विघटन सर्वोच्चले सदर गर्छ ।
मन्त्री गुरुङले निर्वाचन आयोगले सूर्य चिन्ह केपी ओली नेतृत्व रहेका आधिकारिक नेकपाले पाउने दाबीसमेत गरेका छन् । निर्वाचन आयोगले माधव नेपाल चिन्दैन पहिलो अध्यक्ष प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा चिन्ने भन्दै सूर्य चिन्ह र पार्टी आधिकारिक रुपमै ओली समूहकै हुने उनको दाबी थियो । ‘निर्वाचन आयोगले कथंकदाचित सूर्य चिन्ह दुवैलाई दिएन भने पनि दर्ता भएको नेकपा एमालेको उदाउँदो सूर्य चिन्ह हाम्रै हुने छ’, मन्त्री गुरुङले भने ‘कोही पनि भ्रममा र अलमलमा नपरी निर्वाचनको काममा लाग्नुस् ।’
कसको कति लोकप्रयिता छ भनेर जाँच्न निर्वाचनको विकल्प नभएको मन्त्री गुरुङको भनाइ छ । ‘देशभरि भएका सभाले प्रधानमन्त्रीको लोकप्रयिता जाँचिसकेको छ, अब निर्वाचनले जाँच्छ’, मन्त्री गुरुङको भने, ‘हामी स्पष्ट बहुमत ल्याएर नयाँ सरकार बनाउँछौं ।’ उनले कार्यकर्तालाई गाउँगाउँ गएर निर्वाचन प्रचारप्रसारमा लाग्न आग्रहसमेत गरे ।
५ सय ५१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन
नेकपाको ओली समूहले दोलखामा ५ सय ५१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । ईश्वरचन्द्र पोखरेलको संयोजकत्वमा कमिटी गठन गरिएको हो । संयोजकबाहेक अन्यको नाम भने सार्वजनिक गरिएको छैन । जिल्ला अधिवेशन कमिटी गठन गरिएका सबै सदस्यहरुलाई फागुन ८ गते जिल्लाका ९ वटै स्थानीय तहमा शपथ गराइने संयोजक ईश्वरचन्द्र पोखरेलले जानकारी दिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।





















प्रतिक्रिया