भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको छ ।
सीमा क्षेत्रमा भएको भिडन्तमा सुरुमा आफ्ना तीन सैनिकको मृत्यु भएको बताएको भारतीय सेनाले ज्यान गुमाउनेको संख्या त्यो भन्दा अधिक रहेको खुलाएको छ ।
सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक उच्च अधिकारी (कमाण्डर) सहित २० जनाको ज्यान गएको भारतीय सेनाले जानकारी दिएको हो । लद्दाखको पूर्वी क्षेत्रमा रहेको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भिडन्त भएको हो ।
चिनियां सेनासंगको झड्पमा ३४ भारतीय सैनिक वेपत्ता भएका छन् । भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले ३४ जनाभन्दा बढी वेपत्ता रहेको समाचार प्रकाशित गरेको छ ।
भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो । तर चीनले भने भारतीय सेना आफ्नो क्षेत्रमा प्रवेश गरेकाले भिडन्त भएको जनाएको छ ।
भारतीय सेनाले मंगलबार अबेर राति आधिकारिक वक्तव्य जारी गरेर भनेको छ, ‘भारत र चीनका सेनाबिच गलवान क्षेत्रबाट पछि हटेका छन् । जुन १५–१६ को राति (सोमबार राति) सो स्थानमा दुई देशका सैनिकबिच भिडन्त भएको थियो । भिडन्तको क्रममा १७ भारतीय सैनिक गम्भीर घाइते भएका छन् । शून्य डिग्री भन्दा तलको तापक्रम र अति अग्लो सो स्थानमा गम्भीर घाइते भएका ती १७ सैनिकको मृत्यु भयो । सो स्थानमा कुल २० भारतीय सैनिकको निधन भएको हो । भारतीय सेना देशको अखण्डता र सम्प्रभूता रक्षाका लागि प्रतिवद्ध छ ।’
यसअघि भारतीय सेनाले सो भिडन्तमा आफ्ना एक सैन्य अधिकारी र दुई जवानको मृत्यु भएको बताएको थियो । यस्तै समस्या समाधानका लागि दुई पक्षका उच्च सैनिक अधिकारीबिच हाल वार्ता भएको पनि बताएको थियो ।
लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भएको भिडन्तपछि रक्षा मन्त्री राजनाथ सिंहले मंगलबार आर्मी प्रमुखसँग समीक्षा बैठक गरेको समाचार संस्था पिटिआईले जनाएको छ । सो बैठकमा विदेश मन्त्री एस जयशंकर पनि सामेल थिए ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पिपुल्स लिबरेशन आर्मी का पश्चिमी थिएटर कमाण्डका प्रवक्ता चाङ्ग शुइलीको बयान जारी गरिएको छ ।
सो बयानमा चाङ्गले भारतलाई आफ्ना सैनिकलाई रोकोस् र वार्ता मार्फत समस्या समाधानको मार्गमा आओस् भन्ने उल्लेख गरेको जनाइएको छ । भारतीय सैनिकले आफ्नो वचन उल्लंघन गरेको उनले बताएका छन् ।
भारतीय सैनिकले एलएसी पार गरेकाले भिडन्त भएको उनले उल्लेख गरेका छन् । भारतीय सेनाले चिनियाँ सैनिकलाई उक्साएको र पहिले आक्रमण थालेको उनले बताएका छन् । सोही कारण भिडन्त भएको उनको भनाई छ । उनले भारतले आफ्ना सैनिकलाई रोक्नु पर्ने र वार्ता मार्फत समस्या समाधान गर्नु पर्ने माग गरेका छन् ।
भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबिच तनावको अवस्था रहँदै आएको छ । समस्या समाधानका लागि वार्ता भइरहे पनि तनाव भने जारी छ।
कम्तिमा पछिल्लो ४५ वर्षमा भारत–चीन सीमा विवादलाई लिएर भएको भिडन्तमा पहिलोपटक मानवीय क्षति भएको हो । यसअघि सन् १९७५ मा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षको एम्बुस आक्रमणमा भारतीय सैनिकको ज्यान गएको थियो । यस्तै दुई पक्षबिच सन् १९६७ मा भिडन्त भएको थियो ।
१९७५ मा अरुणाञ्चल प्रदेशको एलएसी क्षेत्रमा पेट्रोलिङ्गमा रहेको भारतीय भौजमाथि चिनियाँ पक्षले एम्बुस प्रहार गरेको थियो । त्यसअघि सन् १९६७ मा नाथु ला क्षेत्रमा दुई देशका सेनाबिच भिडन्त भएको थियो ।




















प्रतिक्रिया