सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद केही मत्थर जस्तो देखिएकाे भएपनि अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुगेको भने छैन् । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच केही दिनदेखि लगातार ‘वान टु वान’ वार्ता भएपनि कुनै निकास निस्कके छैन् र तत्काल निकास निस्किने सम्भावना पनि छैन् ।
सत्तारूढ नेकपाका दुबै पक्ष (ओली समूह र प्रचण्ड – नेपाल समूह) अहिले ‘पर्ख र हेर’ को रणनीतिमा छन् । स्थायी कमिटीको बैठक पनि चौथोपटक सर्दै असार २६ गतेलाई पुगेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट ओलीलाई राजिनामा दिन प्रचण्ड नेपाल समूहका अधिकांश सदस्यले गरेको आग्रह अस्वीकार गर्दै आएका छन् । बहुमत आफ्नो पक्षमा हुँदाहुँदै पनि दुबै पदबाट ओलीलाई निष्कासन गर्ने निर्णय प्रचण्ड – नेपाल समूहले गर्न सकेका छैनन् ।
नेकपा विवाद समाधानमा मंसिर ४ गतेको सहमतिलाई नै पुर्नपरिभाषित गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारी कार्यकारी अध्यक्ष प्रचण्डलाई जिम्मा दिने र त्यसको बदलामा यो संसदको पुरै कार्यकाल ओलीले नै सरकारको नेतृत्व गर्ने सहमति स्थायी कमिटीकाे बैठकबाट अनुमोदन गराउनुपर्ने ओलीको प्रस्ताव छ ।
अर्कोतिर प्रचण्ड – नेपाल समूह भने स्थायी कमिटीको बैठक मै अधिकांश सदस्यले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा मागेको अवस्थामा ओलीले केही न केही त्याग गर्नैपर्ने अडानमा छन् । समस्याको मूल चुरो अहिले त्यहीँ अड्केको छ । कार्यकारी अध्यक्ष प्रचण्ड केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए सहज हुन्थ्यो भन्ने रणनीतिमा छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष पदबाट हट्दा आफू पहिलो वरियताको अध्यक्ष बन्न पाउने लालसामा छन् । ओली इतर समूहको यही कमजोरीको जगमा प्रधानमन्त्री ओली दुबै पदमा कायम रहने रणनीतिमा देखिन्छन् ।
पछिल्लो समय ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउँदा पार्टी एकता जोखिममा पर्न सक्छ भन्ने मत बलियो बन्दै गएको छ । दुई अध्यक्षबीचको समझदारीले नै कुनै निर्णय लिनुपर्नेमा पार्टीका दोस्रो तहका नेताहरूको दबाब छ । यस्तोमा या त ओलीसँग छुट्टै समझदारी गर्नुपर्ने बाध्यता प्रचण्डलाई छ भने अर्कोतिर वरिष्ठ नेता नेपाल पनि ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन सहमत हुनुपर्छ । नेता नेपाल अहिलेसम्म प्रष्ट बोलेका छैनन् ।
ओलीपछि प्रधानमन्त्री बन्न प्रचण्डलाई मौखिक सहमति नेता नेपालले दिएको बताइन्छ, ओली प्रधानमन्त्री पदबाट विस्थापित हुँदा प्रचण्ड प्रधानमन्त्री बने र ओली अध्यक्ष कायम रहे भने वरिष्ठ नेता नेपाल यात प्रचण्डको समूहमा छायाँमा पर्छन् यात ओलीसँग पुनः गठजोड गर्नुपर्छ । यस्तोमा ओली प्रधानमन्त्री पदमा कायमै रहुन् भन्नेमा नेपाल छन् ।
अर्कोतिर ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन सकियो भने आफू प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको र पार्टीको कार्यकारी अध्यक्षको नाताले शक्ति अभ्यासमा ओलीलाई पछार्न सकिने प्रचण्डको रणनीति छ । यही रणनीति बुझेर प्रधानमन्त्री ओली भने ‘बहुमत तपाईहरूसँग छ, सकेको गर्नुस्’ भन्दै दुबै पदमा निरन्तर रहने रणनीतिमा छन् ।
यस्तोमा अहिले न त प्रचण्ड – नेपाल समूहले ओलीलाई उनको सहमति बेगर पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउन सक्छन् न त ओली दुबै पद छाड्न तयार हुन्छन् यस्तो अबस्थामा नेकपाको कुनै समूहले ठोस निर्णय नगर्दासम्म नेकपा विवाद साम्य हुने कुनै छाँटकाँट देखिएको छैन् ।
















प्रतिक्रिया