सत्तारूढ नेकपा भित्रको शक्ति संघर्षले पार्टी फुटतर्फ उन्मुख भएको चर्चा चलिरहँदा चिनियाँ सक्रियतापछि केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्न कम्मर कसेर लागि रहेका प्रचण्ड-नेपाल समूहका नेताहरू पछि हटेको विश्लेषण गर्न थालिएको छ ।
नेकपा विवाद सुरु भएपछि १९ असारमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर नेकपा भित्रको विवाद सल्टाउन लागेकी चिनियाँ राजदूत होउ यान्छीले २१ असारमा वरिष्ठ नेता माधवकुमार नेपाल, २३ असारमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र २५ असारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटघाट गरेपछि ओलीको विस्थापनमा लागेको प्रचण्ड-नेपाल समूह शिथिल बनेको छ ।
संकटको समयमा सरकार नबदल्न तथा जनताको समस्या समाधानमा एकजुट हुन् चिनियाँ संस्थापनको सन्देश लिएर ओली विरोधी प्रभावशाली नेताहरूसँग भेटघाट गरेकी यान्छीले ओली सरकार जोगाएको विश्लेषण गरिएको छ । भलै साउन २ पछि बस्ने स्थायी कमिटी बैठकले पार्टी भित्रको विवाद र शक्ति संघर्षबारे आधिकारिक निर्णय भने गर्ने अपेक्षा गरिएको छ । यसअघि पनि नेकपा विवाद मिलाउन सक्रिय रगेकी राजदूत यान्छीले यसपटक पनि नेकपाको विवाद हल गरे सत्तासंकटमा परेका ओलीको यो दोस्रोपटक उद्दार हुनेछ ।
नेकपा विवादको औपचारिक समाधान नभएपनि प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउने रणनीतिबाट कार्यकारी अध्यक्ष प्रचण्ड पछि हटेका छन् । वरिष्ठनेताहरू खनाल र नेपाल भने अहिले पनि ओलीलाई दुबै पदबाट हटाउनुपर्ने अडानमा यथावत रहेको बताइन्छ ।
आगामी महाधिवेशनबाट नेकपाको एकल नेतृत्व लिने प्रयासमा लागेका कार्यकारी अध्यक्ष प्रचण्ड भने अहिले ओली र नेपाल दुबैलाई सहमतिमा ल्याउने प्रयासमा लागेका छन् । यसका लागि प्रधानमन्त्री ओलीसँग वान टु वान छलफल गरिरहेका छन् भने खनाल, नेपाल सहितका आफ्नो समूहका नेताहरूसँग पनि भेटघाट गरिरहेका छन् ।
छिमेकी भारतसँग नक्सा विवादका कारण बिग्रेको सम्बन्धमा तत्काल सुधार हुने सम्भावना नहुनु तथा अर्को छिमेकी चीनको साथ ओलीलाई नै हुनुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैपदबाट हटाउने योजनाबाट पछि हटेपनी दुई पदमध्ये एकबाट राजीनामा दिएर पार्टी भित्रको विवाद समाधानमा सहयोग गर्न कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई आग्रह गरे । ओलीले भने अस्वीकार गर्दै आएकाले नेकपा विवाद अहिले नै समाप्त भैहाल्यो भन्ने निष्कर्ष निकाल्नु हतारो हुनेछ । तर, प्रधानमन्त्री ओलीको संकट कम भएको कुरालाई भने नकार्न सकिन्न ।
















प्रतिक्रिया