Logo

विचार / ब्लग

कुलमान- पुनः नियुक्तिको तरङ्ग !



मंगलबारको कुरा हो ! दिउँसो करिब ३ बजेतिर अधिवक्ता मित्र भुवन थापाले फोन गर्नुभयो ! “कुलमान घिसिङको पुनः नियुक्ति भएको भन्ने छ के खास कुरा के हो ?” मैले जवाफ दिए ” उहाँको कार्यकाल भदौ २९ सम्म छ । यति छिटो हतारमा निर्णय त हुनुपर्ने हो ! हो भने पनि ठिक छ बुझौला के कसो हो?” भनेपछि उहाँले फोन राख्नुभयो । त्यसको केही समयपछि मैले सामाजिक सञ्जाल खोलेर हेर्दा सामाजिक सञ्जालका भित्ताहरू बधाईका शब्दहरूले रँगिसकेका रहेछन् ।

मैले पनि बधाई दिए ” नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा पुनः नियुक्ति भएको भन्ने समाचार सत्य हो भने हार्दिक बधाई तथा शुभकामना !” त्यस लगत्तै कहिले सामाजिक सञ्जालमा कुलमान घिसिङले twitter मार्फत “आफूलाई नेपाल सरकारले प्राधिकरण प्रमुखमा पुनः नियुक्ति गरेकोमा नेपाल सरकार तथा सबैलाई हार्दिक धन्यवाद” भन्ने twitt शेयर गरेका थिए । वास्तवमा उक्त twitt कसैले घिसिङको नामबाट fake id बनाएर गरेको रहेछ ।

जून कुरा कुलमानले आफ्नो आधिकारिक twitt मार्फत भने “मेरो आधिकारिक twitter Id एउटा मात्र पुनः नियुक्त भएको भन्ने समाचारमा विश्वास नगर्नु ।” त्यस अघि उर्जामन्त्री वर्षमान पुनको सचिवालयबाट नियुक्तिबारे खण्डन आइसकेको थियो । कुलमान नियुक्तिको प्रस्ताव नै मन्त्रीपरिषदमा लगेको छैन । यति भने पछि प्रस्ट भयो । बजारमा आएका समाचारहरू आधिकारिक होइनन् र यी गलत हुन् ।

यस घटना पश्चात्, मेरो मनमा एउटा गम्भीर प्रश्न उब्जेको छ । कसैले कुनै व्यक्तिको अनधिकृत रूपमा गलत ID बनाउँदै सामाजिक सञ्जालमा चरित्र हत्या गर्न खोज्छ भने उसलाई कानुनी बमोजिम कारबाही हुँदैन ? हामीसँग कानुन छ र अवश्य हुन्छ ! साथै, राज्यले यस्तो कार्य जुनसुकै व्यक्तिले गरेको भए पनि कानुन बमोजिम कारबाही गर्नुपर्छ र नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउन सक्नुपर्छ । कुलमानको मात्र हैन, सार्वजनिक पद धारण गरेका जुनसुकै व्यक्तिको चरित्र हत्या गर्छ भने उनीहरूलाई कानुनीको कठघरामा उभ्याउनुपर्छ र सजायको भागिदार बनाउनुपर्छ ।

कुलमानको उदय !

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जामन्त्री जनार्दन शर्माको पालामा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्ति गरेका थिए । उनले सरकारको सहयोग र आफू भएको ज्ञान र क्षमताको प्रयोग गर्दै नियुक्ति भएको केही दिन मुलुकलाई लोडसेडिङबाट मुक्त गरे । जति बेला मुलुक दिनको १८ घण्टा लोडसेडिङको अन्धकारमा थिए । आम जनता दैनिक हुने लोडसेडिङको मारले गर्दा आजित थिए । तर सक्षम नेतृत्वको चयन, कुशल व्यवस्थापन र सामूहिक प्रयत्नको परिणाम स्वरूप मुलुकमा लोडसेडिङ सधैँका लागि अन्त्य गर्न सफल भए ।

तर उनले यसको एक्लै जस लिने कोसिस कहिले गरेको देखिएन र बरु सधैँ भनिरहे यो सामूहिक प्रयत्नको परिणाम हो, म एक जनाको प्रयत्नले मात्र सम्भव भएको होइन । यस बीचमा कुलमान घिसिङले विभिन्न सञ्चार माध्यममा दिएका अन्तरवार्ताहरू सुन्दा कहिले पनि लोडसेडिङ अन्त्य गरेको अपनत्व आफूले एक्लै लिएको सुनिएन ।

कुलमान प्राधिकरण आएपछि अहिले लोडसेडिङ हाम्रो लागी इतिहास जस्तै बनेको छ । त्यति मात्र होइन कर्मचारीलाई तलब खुवाउन सरकारको भर गर्नुपर्ने प्राधिकरण अहिले नाफामा रहेको छ । उनले प्राधिकरणभित्र धेरै सुधार गरेका छन् । अस्तव्यस्त रहेको प्राधिकरणले अहिले काँचुली फेरेका छन् र प्राधिकरणले अहिले नयाँ जीवन प्राप्त गरेका छन् । यस अर्थमा, कुशल नेतृत्व चयन गरेर कुलमानलाई प्राधिकरण प्रमुख नियुक्त गर्ने तत्कालीन प्रधानमन्त्री र उर्जामन्त्री जनार्दन शर्मा सबैको धन्यवादको पात्र बन्न सफल भएका छन् ।

मैले बुझेको कुलमान 

कुलमान घिसिङसँग नजिक रहेर मैले करिब ६ महिना प्रत्यक्ष काम गरे । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अहिले पनि कानुनी परामर्शको कार्यहरू गरिरहेको छु । मलाई कसैको अनावश्यक देवत्वकरण र दनाबिकरण गर्नु छैन र गुणगान गाउनु छैन मेरो स्वभाव र नैतिकताले त्यसो गर्न सुहाउँदैन पनि ! तर मैले बुझेको।  र देखेको भन्नुपर्छ । कुलमान घिसिङबाट मैले एउटा नागरिकमा हुनुपर्ने उच्च नैतिकता, इमानदारिता र पारदर्शिता के हो ? भन्ने निकै राम्रोसँग सिकेको छु । एउटा नैतिकवान् ब्यक्ति वा मैले खुलेर भन्नुपर्ने हुन्छ, उनी “नैतिकता र आदर्शका प्रतिमूर्ति नै हुन् । उनको काम गर्ने शैलीमा पनि फरकपन छ ।

उनमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै केही नयाँ गरौँ भन्ने सोचाइ छ । साथै, आफूले आर्जन गरेको ज्ञान र क्षमता प्रयोग गरी देश र जनताको हितको लागी काम गर्नुपर्छ भन्ने दृढ सङ्कल्प छ । उनी प्राधिकरणमा मात्र हैन, जुनसुकै जिम्मेवारी दिए पनि त्यसलाई कुशलतापूर्वक र बिना स्वार्थ खुला दिलले काम गर्न सक्ने क्षमता राख्छन् । त्यसैले उनले प्राधिकरणलाई अर्को उचाइमा पुर्‍याउन सफल भए र सबैको प्रिय बन्न सफल भए र उनीप्रति सबै जनताको अगाध विश्वास गरेका छन् ।

पुनः नियुक्तिको जन अपेक्षा

उनको चार वर्षको कार्यकाल समाप्ति सँगै पुनः नियुक्ति होला वा नहोला त्यो सरकारले कस्तो निर्णय गर्छ त्यसैमा निर्भर हुनेछ । यो सरकारको विवेकको विषय हो । उनी मलाई पुनः नियुक्ति दिनुस् भनेर कसैको दैलोमा जाला भन्ने पनि मलाई लाग्दैन र जाँदैन पनि ! त्यसैले भन्ने गरिन्छ, एउटा संस्था प्रणाली ( system) ले सञ्चालित हुन्छ ! System मा चलेको संस्थामा कुनै व्यक्ति आउनु र जानुले खास तात्त्विक भिन्नता पर्दैन तर कुशल नेतृत्वले धेरै फरक पार्दछ ।

उनले प्राधिकरणलाई अहिले ( system) मा ल्याएका छन् । उनले यसबीचमा गरेका कामको मूल्याङ्कन र प्रगतिको आधारमा पुनः नियुक्ति दिन अहिले सरकार आफै दबाबमा रहेको छ । सबै नागरिकले कुलमानलाई पुनः नियुक्ति दिनुपर्ने दबाब दिइरहेका छन् ! उनको पुनः नियुक्ति सरकारले दिनप्रतिदिन गुमाउँदै गरेको प्रतिष्ठा र सरकारको भविष्यसँग जोडिएको छ । सबैको सरकारसँग अपेक्षा छ ! उनलाई सरकारले पुनः एक पटक प्राधिकरणको नेतृत्व गर्ने अवसर दिनेछ र विवेकसंगत निर्णय गर्नेछ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १९:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।