Logo

विचार / ब्लग

नेपाल भित्रको कैयौं नेपाल



चाइनिज भाइरस… ए ! माफ गर्नुस् कोरोना भाइरस (कोभिड १९) पो हो त । यो कोरोनाले विश्वलाई गर्नु गर्यो । विश्वका धनी राष्ट्रहरुको अर्थतन्त्रलाई डामाडोल बनायो भने, नेपाल जस्ता गरिब राष्ट्रलाई कैयौं वर्षपछि धकेल्यो।

अझ भन्नूपर्दा आधुनिक मान्छेलाई हातमुख छोप्न लगायो, विपन्न वर्गलाई हातमुख जोर्न धौधौ बनायो । हिजो आज यो पृथ्वीको डल्लो शान्त छ । यतिखेर रंगीन यो दुनियाँ घर भित्रै थुनिएको छ । एकातिर मृत्युको त्रासदी छ भने अर्कोतिर कोरोनासँग हारेकाहरुको लास छ । आखिर जुनसुकै देशका, जुनसुकै जातका र जुनसुकै धर्मका भएपनी मानवीय नाताले ती अन्जान लास प्रती आँखा त रसाउछ नै । बाध्यताको डुङ्गा तरेर, सात समुद्र पारीको देशमा पसिनाको सिंचाइ गर्दागर्दै कोरोना भाइरससँग हारेका मृतक नेपाली लगायत नेपालमा मृत्यु भएका नेपाली प्रती यो पंक्तिकारको भावपूर्ण श्रद्धाञ्जली ।

अहिलेको मुहर्त अवस्थालाई अगिंकार गर्दा, आफू बचेर अरुलाई पनि बचाउनु पर्ने अवस्था छ । बाचौं र बचाऔं भन्ने कोरोनाले दिएको शिक्षालाई लकडाउनमा परिणत भएकोछ । नेपालमा लगाइएको लकडाउनले कैयौं नेपाल जन्माएको छ। एउटा नेपाल झुपडीमा छ ,जो राहतको पर्खाइमा छ। एउटा नेपाल बन्द कोठामा छ ,जो आफै बन्द भएर बसेको छ ।

एउटा नेपाल सडकमा छ, जो आफ्नो घर पुग्नलाई दिनरात हिडिरहेको छ । एउटा नेपाल भोको पेट छ, जो छाक टार्नलाई यताउता भौतारी रहेको छ । एउटा नेपाल आइसोलेसनमा छ, जो कोरोनाको स्वाब रिपोर्ट नेकेटिभ आओस् भन्ने कामना गरिरहेको छ । एउटा नेपाल अस्पतालमा छ, जो कोरोना भाइरस बोकेर, मृत्यु सँग पौठेजोरी खेलिरहेको छ । एउटा नेपाल संसद भवनमा छ, जो भत्ता पचाउनलाई बेतुकमा ताली बजाउदैछ।

एउटा नेपाल शितल निवासमा छ, जो शितल तापेर बसिरहेको छ । एउटा नेपाल बालुवाटारमा छ, जो पद र शक्ति जोगाउन मै तल्लीन छ। अनि एउटा नेपाल परदेशमा छ,जो सकुशल स्वदेश फर्किने दिन पर्खेर बसेको छ।पंक्तिकारको यो कामना छ, रेमिट्यान्स पठाउने ती मिहिनेती माहुरीहरु चाडैं नेपाल फर्किने वातावरण बनोस् । नेपालमा लगाइएको लकडाउनले अर्धशतक पूरा गरिसकेको छ। लकडाउनको यो अवधि सम्म आइपुग्दा नेपालमा धेरै मर्माहत खबरहरु देख्न,सुन्न र पढ्न पाईयो ।

निर्दोष जनता माथी पुलिसको लाठी वर्षिदा, लाग्छ बर्दीको आडमा जे पनि गर्न पाईदो रहेछ। तर पुलिसले नै अप्ठ्यारोमा परेका जनतालाई सहयोग गरेको देख्दा,ती पुलिसहरु लाई मनै देखि सलाम ठोक्न मन लाग्छ।बहालको नाममा घरबेटीहरुले डेरावालहरु लाई आर्थिक दबाब दिएको देख्दा ,लाग्छ अब त ! मानवीय धर्म सखाप भएछ।

तर ठूला हृदय भएका ब्याक्तित्वहरुले राहत वितरण गरेको देख्दा, लाग्छ मानवता अझै जिवित रहेछ । नेपाल सरकारले गरिब र विपन्न परिवारलाई राहत वितरण गरेको देख्दा, लाग्छ यो देशको सरकार जिउँदो रहेछ।तर राहतको नाममा कुहिएको अखाद्य वस्तु बाडेको देख्दा, भन्न मन लाग्छ दुई खुट्टे जूकाहरु हो… जनताको रगत, पसिना कति चुस्छौ चुस । यो संकटको समयमा नेपाली जनताले जे चाहेका छन्, त्यो पाइरहेका छैनन् । जे चाहेका थिएनन्,त्यो पाइरहेका छन् ।

सत्तारूढ दल भित्र पदचापलाई पछ्याउने भन्दा, पदलाई पछ्याउने नेताहरुको लर्को लामो छ । जुन लर्को यतिलामो भई सक्यो कि, जहाँ शक्ति र सत्ताको बिन्दुमा पुगेर खिचातानी गर्न मै व्यस्त छन् । गरिब मुलुकको गरिब उपकरण बोकेर नेपालका चिकित्सकहरु कोरोनासँग लडिरहेको बेला राजनीतिका महिशासुरहरु भने, आफैं आफैंमा सत्ताको लागि लडिरहेका छन् ।

कोरोना महामारीको थप संकट रोक्न, जनताको जिउधनको सुरक्षा, अर्थतन्त्रलाई सुढृढ र रोजगारीको सुनिश्चिताको लागि के गर्न सकिन्छ भन्ने दुरदर्शि खाका कोर्नुको साटो, सत्तारूढ दलहरु सत्ताको लुछाचुडी मै ब्यस्त देखिन्छन् । नेपालमा लगाइएको लकडाउनको पिरामिड हेर्ने हो भने लकडाउन गरेरै कोरोना भाइरसलाई तह लगाउने सरकारको मानसिकता देखिन्छ। तर कोरोनाले जन्माएको भयावह स्थिति, वर्तमान सरकारले देखिरहेको छैन।

कोरोनापछि जन्मिने भोकमरी र बेरोजगारलाई कसरी सामना गर्ने ? यो जटिल प्रश्न माथी सरकारको ध्यान केन्द्रीत भएको देखिदैन । नेपालको महामारी रोगको इतिहास हेर्ने हो भने नेपालीहरुको लास थुप्रीएको कैयौं उदाहरण छन्। त्यो महामारीको अन्त्य पछि देशमा भोकमरी चलेको थियो। देशको अर्थतन्त्र धराशायी बनेको थियो। देशको बागडोर सुस्त बनेको थियो। तर देश हाक्ने ड्राइभरहरु, त्यो कालो इतिहासले सिकाएको पाठलाई मनन गर्न चाहिरहेका छैनन।

शुरुआतपछि अन्त्य अवश्य हुन्छ। त्यसकारण कोरोना भाइरसको पनि अन्त्य एकदिन अवश्य हुन्छ। तर अन्त्यपछि निम्तिने विकराल स्थितिको चिन्तन, शुरुबाटै शुरुवात गर्न जरुरी छ। निकट भविष्यको आँकलन कस्ले पो गर्न सक्छ र ? भोलिको दिनमा लकडाउन सकिए पश्चात् अभावले अर्को अभावको नेपाल जन्माउन पनि सक्छ। बेरोजगारीले अर्को बेरोजगार नेपाल जन्माउन पनि सक्छ।

भोकमरीले अर्को भोकमरीको नेपाल जन्माउन पनि सक्छ। नेपालीले नचाहेको नेपाल जन्मिन पनि सक्छ। त्यसैले आम नेपाली जनताले चाहेको नेपाल जन्माउन, वर्तमान सरकार बेलैमा सचेत हुन जरुरी छ। किनकि नेपाल र नेपालीले शिर उचो पार्दै कोरोना सँग युद्ध गर्नु छ । जून युद्धमा नेपाल र नेपालीले जित्नुछ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार २३:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।