Logo

प्रमुख समाचार

गठबन्धनलाई मुख्यमन्त्री शाक्यको चुनौती, कस–कसलाई बनाउदैछिन् ९ जना मन्त्री ?



पदभार ग्रहण गर्दादेखि नै अल्पमतमा रहेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छिन् । मुख्यमन्त्री बनेको २१ दिनपछि शाक्यले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दादेखि नै माधवकुमार नेपाल समूहसँग रहँदै ओली कदमको कडा विरोध गर्दै रहे पनि पार्टी विभाजन हुने बेलामा नेपालको साथ छोडेर मुख्यमन्त्री चुनिएकी शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री गरि ९ जना मन्त्री थप्ने तयारी गरेकी छिन्।

आज राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त गरेर शपथ ग्रहण गर्ने तयारी गरिएको स्रोतको दाबी छ । शाक्यले मुख्यमन्त्रीको शपथ लिएपछि दुई जनालाई मन्त्रीमा नियुक्त गरेकी थिइन् । तर उनले नियुक्त गरेको सामाजिक विकास मन्त्री कृष्ण खनालले नेकपा एकीकृत समाजवादी रोज्दै पदबाट राजीनामा दिएका थिए । हाल दुई सदस्यीय रहेको मन्त्री मण्डलमा आज ९ जना थपेर ११ सदस्यीय बनाउने शाक्यको तयारी रहेको छ ।

आज संसदले समाजवादीमा गएका प्रदेशसभा सदस्यको नाम प्रकाशित गरेसँगै व्यावहारिक रुपमा अल्पमतमा परिसकेकी अष्टलक्ष्मी कानुनी रुपमा पनि अल्पमतमा पर्ने छिन् ।

एमाले आधिकारिक रुपमा विभाजन भएर अल्पमतमा परेपछि शाक्यले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । तर उनले विश्वासको मत नलिने भएकोले मन्त्रीपरिषद् विस्तार गर्न लागेको बुझिएको छ ।

शाक्यले कस–कसलाई मन्त्री बनाउछिन् भन्ने हालसम्म खुलेको छैन । यद्यपी विगतमा माधवकुमार नेपालको समूहमा खुलेपनि उनी नेतृत्वका एकिकृत समाजवादीमा सनाखत गर्न नगएका सांसदहरु प्राथमिकतामा रहेको श्रोतको दाबी छ । कतिपयले चाहिँ यो सरकारको आयु हप्ता–दशदिन भन्दा बढी नभएकोले म्यादी मन्त्री बन्न नरुचाएको समेत बताइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ०९:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।