Logo

प्रमुख समाचार

कमेडी च्याम्पियनको फाइनल दिन आज, कसले मार्ला बाजी ?



काठमाडौं । स्ट्याण्ड अप कमेडी शो कमेडी च्याम्पियन सिजन–२ को फाइनल आज हुँदै छ । आज साँझ राती ९ बजेबाट कार्यक्रम सुरु भइ राति ११ बजेसम्म रिजल्ट सार्वजनिक भइसक्ने कार्यक्रम आयोजक श्रोतले जानकारी दिएको छ ।

फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । उनीहरु फाइनलका लागि भोट माग्न आफ्नो गृहनगरसम्म पुगेर फर्किसकेका छन् ।

फाइनलका लागि भोट अपिल गर्दै भरतमणिले आफ्नै गाउँ–समाज र त्यहाँको सामाजिक जीवन शैलीप्रति व्यङ्ग्य गरेका थिए ।
बिक्कीले अघिल्लो श्रृंखलामा आफूले दिएको प्रस्तुतिप्रति निर्णायकको प्रतिक्रिया र प्रतिस्पर्धीसँगको आफ्नो सम्बन्ध तथा आफूले असअघि दिएको चर्चित प्रस्तुतीलाई लिंक गरेका थिए ।

अर्का प्रतिस्पर्धी सन्तोष थापाले भरतमणि र बिक्कीाप्रति दर्शकको लोभलाग्दो क्रेजको चेपुवामा पर्दाको व्यङ्ग्यात्मक पीडालाई प्रस्तुतिको विषय बनाएका थिए ।

सन्तोषको यो प्रस्तुतिलाई निर्णायकले मन पराएका थिए । आफैंप्रति गरेको व्यङ्ग्यले उनीप्रति दर्शकको सहानुभूति प्रकट हुन सक्छ । जसले गर्दा अघिल्ला श्रृंखलाको अनुपातमा दर्शकको भोट उनलाई बढेको हुन सक्छ ।

भरतमणिले आफ्नो प्रस्तुतिमार्फत गाउँका लिम्बू समुदायलाई खुसी पार्ने प्रयास गरेका छन् । बाहुन–क्षेत्रीसँग तुलना गर्दै लिम्बू समुदाय दिलदार हुने उनले प्रस्तुतिमार्फत जनाएका थिए । यसलाई भोटका लागि गरेको चलाखी भनेर पनि अर्थ लगाउन सकिन्छ, भलै त्यो सत्य नै किन नहोस् ।

बिक्कीलाई नेपाल र नेपालबाहिरका नेपाली भाषीहरुको राम्रो साथ मिल्न सक्छ । रियालिटी शोहरुमा नेपालबाहिर बस्ने नेपालीभाषीहरुको बाक्लै आगमन हुने गरे पनि फाइनल पुग्ने उनी पहिलो व्यक्ति हुन् । त्यसैले यसको फाइदा उनले उठाउन सक्छन् ।

गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको साथ छ । ताप्लेजुङका भरतमणिलाई पूर्व मन्त्री तथा एमाले नेता योगेश भट्टराईको साथ छ भने सिक्किमका बिक्की अग्रवाललाई मुख्य मन्त्री प्रेम सिंह तामाङको साथ छ । बिक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गरेका थिए ।

भरतमणिलाई योगेशले भोटका लागि अपिल नै गरेका छन् । उनले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार ११:११   :  बजे

549
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।