Logo

प्रमुख समाचार

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दै



काठमाडौं । सत्ता गठबन्धनमा रहेका पाँच दलले नेकपा (एकिकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने तयारी थालेका छन् । कार्तिक ४ गते (बिहीबार) हालकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेकोमा उक्त प्रक्रियामा शाक्यको पक्षमा बहुमत जुट्न नसक्ने अवस्था आएसँगै पाण्डे मुख्यमन्त्री बन्ने निश्चत भएको हो ।

हालकी मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गरिसकेकी छन् । प्रदेश सभाबाट वर्तमान मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना छैन । शाक्यले विश्वासको मत नपाएपछि यही साता पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

बागमती प्रदेश सभाका ११० सदस्यमध्ये अहिले कायम १०९ जना छन् । शाक्यको पक्षमा एमालेका ४३ जना मात्र छन् । पाण्डेको पक्षमा नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३ जना, विवेकशील साझा पार्टीका तीन र जसपाका एक प्रदेश सभा सदस्य हुनेछन् ।

बागमती प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता इँद्र बानियाँको समेत दाबी रहेको छ । यद्यपी संघीय सरकारमा मन्त्रालयको भागबन्डा गर्दा नै बागमती प्रदेश र प्रदेश नं. १ को नेतृत्व एकिकृत समाजवादीलाई दिने सहमति गठबन्धनमा भएकोले पाण्डे निर्विकल्प मुख्यमन्त्री बन्ने देखिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १०:००   :  बजे

420
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।