Logo

अनलाइनपाना खोज

रामबरण यादवसँगै पक्राउ परेका केदार कार्की र उनको राजनीति



प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रीको जन्म २०३० सालमा सप्तरीमा भएको थियो । जीवनले आफ्नो गति लिइरहँदा मन्त्री केदार कार्कीको बसाइँसराइ भने सुनसरी जिल्लामा भएको थियो । उनले सप्तरीबाट सुनसरीमा आउँदा आफ्नो राजनीति जिन्दगी पनि सँगै लिएर आएका थिए । विद्यार्थीकालबाट नै आफ्नो राजनीति जीवन सुरु गरेका कार्कीले आफूलाई जनताले रोज्ने नेताको रुपमा स्थापित गराइसकेका छन् ।

मन्त्री कार्की २०४६ को आन्दोलनमा पनि सक्रिय रहेका थिए । अध्ययनको शिलशिलामा मोरङ कलेजमा भएका कार्की त्यहा रहँदा भने इकाइ सभापति रहेका थिए । त्यसैगरी उनी तत्कालीन मोरङ क्षेत्र नं ६ को नेविसंघ सभापति पनि रहेका छन् । उनी मोरङमा नेविसंघ जिल्ला सभापति रहेर आफ्नो राजनीतिलाई अझ बलियो बनाएका थिए । नेविसंघ केन्द्रिय सदस्य समेत रहेका मन्त्री कार्कीले विभिन्न अधिवेशनमा प्रतिनिधिको भूमिका निभाएका छन् ।

कार्कीले १३ औँ महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारी दिएका थिए । अहिले भने उनी मोरङ क्षेत्र नं ६ बाट प्रदेश सभा सांसद रहेका छन् भने प्रदेश नं १ बाट उनी आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी बहन गरिरहेका छन् । यसभन्दा अगाडि नेपाली काङ्ग्रेस क्षेत्र नं १ को प्रमुख सचेतक रहेर पार्टीको लागि काम गरेका थिए ।

समाजशास्त्रमा स्नातकत्तोर गरेका मन्त्री कार्कीले पटक पटक गरेर नौ महिना जेल जीवन बिताएका छन् । चार महिना बिराटनगर कारागार र पटक पटक गरेर हिरासत बसेका उनले काठमाडौँको गौशाला कारागारमा समेत साढे तीन महिना बिताएका छन् । गौशालामा भने उनलाई राजाको पालाको नगर चुनाव बहिष्कार गरेपश्चात् हिरासतमा राखिएको थियो ।

उनी जनआन्दोलनमा मन्त्री कार्की रामबरण यादवसँगै पक्राउ परेका थिए । कफ्यू तोड्ने क्रममा उनी जनआन्दोलनमा अत्याधिक घाइते हुनेको सूचीमा समेत अटाउँछन् । आफ्नाे मतदान क्षेत्रभन्दा बाहिरको क्षेत्रबाट चुनाव लड्ने मन्त्री आफ्नो नगरमा लोकप्रिय छन् । शालिन शैली र भद्र व्यवहारको कारण उनी सधैँ जनताको रोजाइमा पर्ने गरेका छन् ।

खान नपाएर बेहोस भएकी सुत्केरी महिलालाई सहयोग

नेपाली काँग्रेस प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुत्केरीले खाना खान नपाएर बेहोस भएको भिडियो सामाजिक सञ्जालमा आएपछि आवश्यक खाद्यान्न, लताकपडा तथा नगद सहयोग गरेका थिए ।

उनले मोरङ बुढीगंगा गाउँपालिका वडा नं ४ गोकुवाकी १२ दिने सुत्केरी रेखा परियार र सोही गाउँपालिका वडा नं ३ गोकुवाकै ६ दिने सुत्केरी नमिता ऋषिदेवलाई उनीहरुकै घरमा पुगेर उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

भिडियो सार्वजनिक भएलगतै प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की उक्त महिलाको खोजीमा निस्केका थिए । कार्कीले उनीहरुलाई चामल, दाल, तेल, मासु, नुन, सुत्केरी आमा र बच्चालाई आवश्यक कपडा र नगद दिएका थिए ।

समाजमा पछि पारिएका सुकुम्वासी तथा श्रमजिवी मजदुरको पक्षमा काम गर्दा आफूलाई सधै खुशी लाग्ने कार्की बताउछन् । यसअघि कार्कीले मोरङ र सुनसरीका मजदुरहरु काठमाडौंबाट पैदल हिडेरै घर गएको समाचार प्रकाशित भएपछि ती यात्रुलाई गाडीको व्यवस्था गरि सिन्धुलीबाट जिल्ला लगेका उदाहरणहरु छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार १४:१६   :  बजे

1.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।