तपाईँ घरभन्दा बाहिर कतिसमय बस्न सक्नुहुन्छ ? तपाईँको परिवारमा के भइरहेको छ ? देशमा के भइरहेको छ ? भन्ने खबरविना तपाईँ दिनमा कतिपटक लामो सास फेर्दै बाँच्न सक्नुहुन्छ ? चालीस वर्षसम्म तपाईँ यसरी बस्न सक्नुहुन्छ ?
इलामका दीपक जैसी भनिने दुर्गाप्रसाद तिम्सिनाले आफ्नो जीवनको चालीस वर्ष कैदी जीवन बिताए । अन्त्यमा उनी निर्दोष सावित भए र छुटे । जीवनको चालीस ऋतु दुर्गाप्रसादले कहिले कुन जेल त कहिले कुन जेलमा चाहारेर बिताएका थिए । परिवारमा के भयो ? परिवार कता छ ? भन्ने कुराको केही खबर नभएका दुर्गाप्रसादको जिन्दगी कर्कलाको पातमा अडिएको पानीझैँ बित्यो । अञ्जुली पानी थापेको जस्तो तप्प तप्प गर्दै बित्यो । हातका मुठ्ठीमा बालुवा कसेर बोकेझैँ छिनमै हरायो, दुर्गाप्रसादको जिन्दगी ।
२०३७ सालमा इलामको एकतप्पाबाट कोही गुमनाम भयो । कहाँ गयो ? किन गयो ? कहिले गयो ? कसरी गयो ? कसैलाई थाहा थिएन । तर एउटा जिन्दगी यसै बिलायो परिवारको लागि । ती बिलाउने वा हराउने व्यक्ति तिनै दुर्गाप्रसाद थिए । जो भारतको कलकत्तामा हराएको चालीस वर्षपछि भेटिए ।
सामान्य गुजारा चलाएर जीवनयापन गरिरहेका २० वर्षीय दुर्गाप्रसाद २०३७ सालको भदौको रिमरिममा इलामकै मङ्गलबारे भन्ने ठाउँमा तोरी बेच्नको लागि भनेर हिँडे । उनले तोरी बेचे कि बेचेनन् भन्ने समेत थाहा भएन तिम्सिना परिवारलाई । किनकि त्यो दिनबाट दुर्गाप्रसाद फर्केनन् ।
हराएको धेरै वर्षसम्म पनि उनी नआउँदा घरकाले उनको मृत्यु भइसकेको आशंका गरे । इलामबाट प्राय मान्छे भागेर भारतको दार्जेलिङ र सिक्किममा काम खोज्दै जान्थेँ । परिवारले उनी भागेको शंका गरे । तर भागेको नै भए पनि घर त आउनुपर्ने हो भन्ने झिनो आशा आमा धनमायाको हृदयमा आलो नै थियो ।
तर उनी धेरै वर्षसम्म नआएपछि र दार्जेलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्किएको खबर देश विदेशमा चलेपछि परिवारले आन्दोलनमा मर्यो भन्ने सोचे । तिम्सिना परिवार चालीस वर्षसम्म छोरा,काका, मामाविहीन भएर बसेको थियो । ब्रतबन्ध पनि नगरेका दुर्गाप्रसादलाई परिवारले सकेजति खोज्ने प्रयास गर्यो । भारत वा अन्य देशमा खोज्न सक्ने तिम्सिना परिवारको हैसियत थिएन । र खोजेन ।
तर यता दुर्गाप्रसादलाई ज्यानमुद्धाको आरोपमा जेल हालिएको थियो । अदालतमा पेश गरिएको कागजपत्र हेर्दा उनलाई एक व्यक्तिको हत्या गरेको आरोपमा जेल हालिएको छ । उनी पक्राउ पर्दा दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किरहेको थियो । त्यही क्रममा आन्दोलनकारीले उनी रहेको जेलमा आगजनी गरे । जसका कारण उनका सबै कागजपत्र जले ।
सन् १९८० मे १२ मा पक्राउ परेका उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्धार जेल हुँदै कोलकाता सेन्ट्रल जेल सरुवा गरिएको थियो । यसरी उनले आफ्नो चालीस वर्षको जीवनको नौका गन्तव्यहीन नदीमा दौडाए । दार्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बसेका थिए, त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि थोपरिएको थियो । तर उनीमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ । प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फ्लोअप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पुर्याइएको थियो ।
आफ्नो घरमा मकै फल्यो पाक्यो । नासपातीको बोटमा पालुवा लाग्यो, फल्यो झर्यो र कुहियो । गाई कतिवटा फेरि कति लिटर दूध दियो दुर्गाप्रसादलाई केही थाहा भएन । उनी आफूलाई किन जेल हालियो भन्ने कुराको पनि कुनै संकेत थिएन ।
यसबीचमा उनीबारे न परिवारले कुनै खबर पायो, न सुनवाइ नै भयो । गत असोजमा उनीसँगै कारगारमा १० वर्ष बिताएका भारतीय नागरिक राधेश्याम दास छुटेपछि मात्र तिम्सिनाको कथा बाहिर आएको हो । दासलाई उद्धृत गर्दै स्थानीय वेस्ट बंगाल रेडियो क्लबले तिम्सिनाको खबर प्रसारण गरेपछि मानव अधिकारीवादी तथा सामाजिक अभियन्ताहरूले जेलमा हुने गरेका चरम लापरबाही र प्रशासनिक निष्क्रियताको तीव्र विरोध जनाए ।
क्लबले नै इलाममा रहेका उनका परिवारलाई समेत जानकारी दिएको थियो । त्यसपछि मात्रै उनको रिहाइको पहल सुरु भएको हो । क्लब, कोलकातास्थित नेपाली महावाणिज्य दूतावास, पूर्वन्यायाधीश विदुरविक्रम थापा, वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, विश्व सेवा विस्तार नामक गैरसरकारी संस्थालगायतले उनलाई रिहाइ गर्न पहल गर्दै आएका थिए ।
इलामको घरमा दीपक जैसीको नामबाट चिठी आयो । जहाँ दुर्गाप्रसादको बारेमा लेखिएको थियो । कसैले मजाक गर्यो होला भन्ने परिवारका मान्छेले सोचे तर त्यो कुनै मजाक थिएन । दुर्गाप्रसाद जिवित नै छन् भन्ने एउटा मिठो सन्देश थियो । त्यही पत्रको धागो समाउँदै उनका परिवारले उनलाई गतवर्ष नेपाल ल्याएका थिए ।
उनलाई नेपाल ल्याउँदा उनको बानी कुनै नौ वर्षीय बालकको जस्तै रहेको थियो । उपचारको लागि उनलाई बिराटनगर लगियो । आफन्त र गैरसरकारीका मान्छेहरू उनले पाएको यातना कैदी जीवनको लागि क्षतिपूर्तिको लागि माग गर्न थाले । उनले यस वर्ष भने भारतीय पाँच लाख रुपियाँ क्षतिपूर्तिस्वरुप पाएका छन् । अझै दिलाउन परिवार र अन्य लागि परेको छ ।
यसरी एउटा जिन्दगी चालीस वर्षसम्म गुमना भएर फेरि आकाशको मुनि आयो । फेरिएको जीवन, फेरिएको राजनीति फेरिएको समय र फेरिएको आधुनिकतालाई दुर्गाप्रसादले अब आँखाले देख्नेछन्, कानले सुन्नेछन् ।





















प्रतिक्रिया