Logo

टिप्पणी

प्रचण्ड बिना बाच्नै नसक्ने कांग्रेसलाई विपी कोइरालाको त्यो बचनले नपोल्ला ?



स्थानीय तहको निर्वाचनको मिति नजिक आइरहेका बेला चुनावी चटारो सबै दल र नेतालाई लागेको छ । गठबन्धन गरेर हराउँछु भन्ने र गठबन्धन गरे पनी हराउँछु भन्नेको जुहारी चलिरहेकै छ ।

२०७४ सालको प्रतिनिधीसभाको निर्वाचनमा बामगठबन्धन बनेपछि निर्वाचनमा नमज्जासँग पराजित भएको नेपाली कांग्रेस यस पटक बदला लिने दाउमा रहेको छ । जसरी पनि चुनाव जित्नैपर्छ भन्ने मानसिकतामा रहेको कांग्रेसले एउटा कम्युनिष्टसँग गठबन्धन गरेर अर्को कम्युनिष्ट हराउँने दाउमा देखिन्छ ।

कांग्रेसका नेताहरुले आफूहरु विपी कोइरालाको पार्टीको नेता भएको सगौरव आफ्नो महिमागान गरिरहेका हुन्छन् । जनताको अधिकार र प्रजातन्त्रका लागि अविचलीत संघर्षको मैदानमा घोमिएका विपीलाई कांग्रेसजनले निकै श्रद्धा र आदर्शले हेर्ने गर्दछन् । अहिले फेरि एकपटक कांग्रेस साँच्चै विपीको बाटोमा हिँडेको छ ? भनेर विवेचना सुरु भएको छ ।

वरिष्ठ अधिवक्ता स्वर्गिय गणेशराज शर्माले आफ्नो स्मरणमा विपीको अन्तिम बचनको सम्झना गर्दै लेखेको कुरा कतिले सम्झिएका होलान् ? विपी कोइरालाले बरु सिद्धान्तका लागि सत्ता छोड्नु तर सत्ताका लागि कहिल्यै सिद्धान्त नछोड्नु भनेको शर्माले उल्लेख गरेका छन् ।

जुन दिन कांग्रेसले सत्ताका लागि सिद्धान्त छोड्छ त्यो दिन कांग्रेस निरर्थक बन्नेछ भनेर विपी कोइरालाले भनेको स्मरण नेता गोविन्दारज जोशीले पनि गरेका छन् । जोशीले अहिलेको कांग्रेसले सत्ताका लागि सिद्धान्त छोडेको आरोप लगाएका छन् । जोशीले कांग्रेस विपीको बाटोबाट पूर्णरुपमा अलग भएको दाबी गरेका छन् ।

सिद्धान्तका लागि सत्ता छोड्नु भन्ने विपीको पार्टी अहिले सत्ताका लागि सिद्धान्त छोड्ने ठाउँमा पुगेको छ त्यसैले विपीले भनेजस्तै यो पार्टी निरर्थक भएको जोशीको दाबी छ । कांग्रेस आफ्नो मूल्य, मान्यता र सिद्धान्तबाट च्यूत भएको भन्दै जनै फालेको बाहुनसँग तुलना गरेका छन् ।

नेता जोशीले विपी कोइरालाको बारेमा अर्को सम्झना पनि सुनाएका छन् । नाताले आफन्त पर्ने तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीले एउटै मंचमा बस्न गरेको अनुरोध समेत विपी कोइरालाले नमानेको कुरा उनले सुनाएका छन् ।

त्यस बखत कम्युनिष्ट नेता मनमोहन अधिकारीले कांग्रेस नेता विपी कोइरालालाई विरानगररमा भएको एक कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्न र सँगै स्टेजमा बस्न अनुरोध गरेका थिए । जवाफमा विपीले बरु म कार्यक्रममा सहभागी हुने मान्छे बोलाइदिन्छु म पनि पुरा कार्यक्रम अवधिभर दर्शकदीर्घातिर बसेर सुन्छु तर सँगै स्टेजमा बस्दिन भनेर भनेका थिए । जोशीले अधिकारी र कोइरालाको किस्सा सुनाएका छन् ।

समाजमा फरक विचार हुनपर्छ भनेर एउटै स्टेज समेत सेयर नगर्ने विपी र अहिले सत्ताका लागि कांग्रेसको चारतारे झण्डामुनी बसेर माओवादीको हँसिया हथौडामा भोट माग्ने देउवाकोबीचमा तुलनानै हुन नसक्ने पनि जोशीले भनेका छन् । क्षणिक सत्तालोभले कांग्रेसको अधोगती सुरु भएको दाबी पनि उनले गरेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार ०८:१५   :  बजे

399
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।