Logo

आफन्त र कार्यकर्तालाई खोप लगाउन जनप्रतिनिधिको दबाब, खोप अभियान स्थगित 



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर चलिरहेको समयमा सरकारले चैत २५ गतेदेखि खोप अभियान सुरु गरेको हो । उमेर समूह तोकेर २५ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको भए पनि रुपन्देहीका केही स्थानमा भने खोप अभियान स्थगित गरिएको छ । 

जनप्रतिनिधिले मापदण्ड विपरीत आफ्ना मान्छेलाई खोप लगाउन दिएको भन्दै विवाद सिर्जना भएपछि रुपन्देहीका केही स्थानहरुमा खोप अभियान स्थगित गरिएको हो । 

जनप्रतिनिधिका आफन्त, पार्टीका कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि विवाद भएको हो । जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया र मर्चवारी गाउँपालिकामा विवाद भएपछि खोप कार्यक्रम स्थगित भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिएका छन् । 

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप जिल्लामा ६२-६४ वर्ष उमेर समूहका १४ हजार ५ सय ५५ जना नागरिकलाई खोप लगाउन सुरु गरिएको थियो । यो उमेर समूहका नागरिकको संख्या जिल्लामा १८ हजार छ । लक्षित उमेर समूहलाई नै पुग्ने खोप नआएका बेला जनप्रतिनिधिले आफ्नो मान्छेलाई खोप लगाउन दबाब दिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

विवादका विषयमा केन्द्र र प्रदेश सरकारलाई जानकारी गराइएको र सहजीकरण प्रयास भइरहेको प्रजिअ तामाङले जानकारी दिए । 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १५:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।