Logo

अन्तर्वार्ता

भौतिक पूर्वाधारतर्फ राम्रो फड्को मारेका छौँ :अध्यक्ष कार्की 



प्रदेश नं १ स्थित मोरङ जिल्लको उत्तरी भेगमा रहेको केराबारी गाउँपालिका साबिकका लेटाङ भागटेनी नगरपालिकाको वाड नं १, केराबारी, पार्टीगाउँ, सिंहदेवी र याङशिला गाउँ विकास समितिहरू समेटेर बनाइएको हो । ३० हजार भन्दा बढी जनसङ्ख्या र २१९.८३ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिका १० वटा वडामा विभाजित छ । भौतिक विकासमा पछिल्लो समय राम्रो प्रगति गरिरहेको गाउँपालिकाले धार्मिक, सांस्कृतिक तथा पर्याटकिय सम्भावनाहरू पनि बोकेको छ । गाउँपालिकाले पछिल्लो समय कसरी आफ्नो कार्य सम्पादन गर्दै आएको छ ? कोरोना महामारीका विषयमा गाउँपालिकाको भूमिका कस्तो रहँदै आएको छ ? आगामी योजनाहरू के-कस्ता रहेका छन् ? यस्तै विविध विषयमा केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीसँग अनलाइनपानासहकर्मी निकेश बरालले गरेको कुराकानी :

कोरोना नियन्त्रणका लागि के-कस्ता कार्यहरू गर्दै आउनुभएको छ ? क्वारेनटिन र आइसोलेसनका सुविधा कस्तो छ ?

कोरोना नियन्त्रणका लागि अस्पतालमा डाक्टरसहितको आइसोलेसन, पालिकास्तरीय अस्पतालको व्यवस्था गरेका छौँ । गाउँ-गाउँमा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण पनि गर्दै आएका छौं । नौ जनाको मृत्यु भइसकेको अवस्थामा हाल परीक्षण गरिएकहरुमध्य पनि ७० देखि ७५ प्रतिशत संक्रमित थपिँदै हुनुहुन्छ । यस्तो अवस्थामा होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सतर्कता लगायतका कुराहरू पालिकावासीहरूलाई सिकाउँदै आएका छौँ । होम आइसोलेसनमा असहज भए पालिकास्तरीय अस्पताल र त्यहाँ पनि असहज भए धरानतर्फ घोपा र विराटनगरतर्फ नोबल अस्पताल पठाउने गरेका छौँ ।

कोरोना महामारीले गर्दा विकास निर्माणका कार्यहरूका अवरोध पक्कै पनि भइरहेको होला । यस्तो अवस्थामा विकासका काम ठप्प छन् वा भइरहेका छन् ?

काम भइरहेको छ । ठेक्कामा गएका कामहरू रोकिएका छैनन् । तर पनि कोभिडको असर नै नभएको भन्‍ने होइन । असर गरेको छ । जसले गर्दा थोरै जनशक्तिले सावधानी अपनाएर सामान्य गतिमा कामहरू अघि बढिरहेका छन् । थालिएका कार्यहरू ८० प्रतिशत भन्दा बढी नै सम्पन्न भएका छन् ।

स्थानीय तह र नागरिकहरू बीचको सम्बन्ध कस्तो छ ?

सम्बन्धको कुरा गर्दा नागरिकहरू सन्तुष्ट नै हुनुहुन्छ । हुन त मानिसको इच्छा, आकांक्षा बढी नै हुन्छ । र पनि उहाँहरूको माग, सल्लाह, सुझावलाई सम्बोधन गर्दै अघि बढिरहेका छौँ । उहाँहरूको गुनासो अनुसारको सम्बोधन पनि गर्दै आएकाले असन्तुष्टि छैन । तर पनि हामी जनप्रतिनिधिहरूलाई पालिकावासीहरूले राजनीतिक दृष्टिकोणले पनि हेर्नुहुने भएकाले केही गुनासो र असन्तुष्टि त भइहाल्छ । शत प्रतिशत भन्‍ने हुँदैन । तर, समग्रमा भन्दा नागरिकहरुको त्यस्तो असन्तुष्टि देखिएको छैन । 

चालु आर्थिक वर्षको बजेट कहाँ कति कसरी खर्च भयो ?

हालसम्म करिब ७५ देखि ८० प्रतिशत बजेट खर्च हुने देखिएको छ । अहिले हामीले धेरै जसो बहुवर्षीय योजनाहरू चलायौँ । कालोपत्रे, पुल, विद्यालय भवन निर्माण, मोटर बाटो, गाउँपालिकाको भवन जस्ता कुराहरूमा जोड दिएका छौँ । दक्षिाणमा पूर्वपश्चिम राजमार्ग (खोर्साने, लालभित्ति) देखि उत्तरमा मदन भण्डारी राजमार्ग (भेडेटार) सम्म कालोपत्रे गर्‍यौं । हाम्रो कार्यकाल त सकिँदै छ, आगामी चुनावबाट चुनिएर आउनुहुने जनप्रतिनिधिहरूलाई पनि सहज हुने किसिमले बजेट खर्च गरेका छौँ । आगामी आर्थिक वर्ष पनि स्थानिय स्राेतबाट मात्रै ३०/३२ करोडको बजेट ल्याउने तयारीमा छौँ । त्यसमा प्रदेश र केन्द्रकाे समावेश गिरएकाे छैन् ।

संघ सरकार र प्रदेश सरकारबाट कस्तो सहयोग पाइरहनुभएको छ ?

संघ सरकारको कुरा गर्दा राजस्व बाँडफाँट लगायतका केही सानो रकम आए पनि त्यसबाहेका कुनै सहयोग भएको छैन । अब प्रदेश सरकारको कुरा गर्दा गत आर्थिक वर्षमा १ करोड ५३ लाख रुपैयाँ आएको थियो । यो वर्ष त्यो भन्दा पनि कम आउने देखिएको छ । सहयोग नै नभएको होइन । तर सामान्य किसिमले मात्र सहयोग भएको छ । त्यसमा पनि हामीले स्थानीय स्रोत साधनबाट २२ कराेडआम्दानी गरेबापत ठेक्का काटेर र राजश्व तिरेर करिब ११ कराेंड जति बचाएका छौँ ।

कार्यकाल सकिँदै छ । यो समयमा गर्न छुटेको काम केही छ जस्तो लाग्छ ?

हामीले भौतिक पूर्वाधारतर्फ राम्रो फड्को मारेका छौँ । विद्यालय भवन बनाइरहेका छौँ । खानेपानी पनि भयो । सडक कालोपत्रे लगायतमा पनि राम्रो नतिजा देखिएको छ । सबै जना भौतिक विकासमा केन्द्रित भइरहेका बेला हामी पनि त्यतै लाग्यौ । पालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा फोकस गर्नुपर्ने देखिन्छ । कृषि र पर्यटनको राम्रो सम्भावना भएको हाम्रो केराबारी गाउँपालिकामा पनि त्यसतर्फ बढी ध्यान दिन सकेनौँ त्यसमा भने अलिकति दुःख पनि लागेको छ । कृषि र पर्यटनमा अझै पनि ध्यान केन्द्रित गरेर बजार व्यवस्थापन र मार्केटिङ गर्न सक्यौँ भने राम्रो हुन्छ ।

करिब चार वर्षको कार्यकालमा स्थानीय तहमा बस्दा के-कस्ता चुनौतीको सामना गर्नुपर्ने रहेछ ?

यो स्थानमा जनप्रतिनिधि भएर बस्दा चुनौती नै नहुने त हुन सक्दैन, पक्कै पनि चुनौतीहरू छन् । धेरै पालिकावासीहरूको साथ, सहयोग र हौसलाले गर्दा त्यसलाई समाधान गर्दै अघि बढ्दै आएका छौं । स्थानीयहरूको साथ र सहयोगले गर्दा त्यस्ता धेरै चुनौतीको सामना गर्नुपरेको छैन । अघि मैले भने नि स्थानीय तह र नागरिकहरू बिच असन्तुष्टिको अवस्था नभएर नै पनि काम गर्न सहज भएको छ ।

अन्त्यमा केही भन्‍नु छ ?

आगामी आर्थिक वर्षको बजेटको चटारोमा छौँ । हाम्रो योजनलाई खण्डन गर्ने र समर्थन गर्ने सबैलाई स्वागत छ । सुझाव दिन सक्नुहुन्छ । सम्पूर्ण केराबारीबासीहरुलाई सुझावकालागि अपिल समेत गर्दछु ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार ११:५५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।