नेपालगञ्जमा गत वर्ष पुसमा एउटा इभेन्ट म्यानेजमेन्टले सञ्चालन गरेको प्रतियोगितालाई नेपाल एथ्लेटिक्स संघले ओलम्पिक छनोटको रुपमा लियो । उक्त प्रतियोगितामा प्रथम भएको खेलाडीले ओलम्पिक छनोट हुने भन्दै आशा देखाइयो । उक्त प्रतियोगितामा प्रथम भएका थिए नेपालका लागि १३ औं सागमा स्वर्ण पदक विजेता गोपी चन्द्र पार्की । प्रथम भएसँगै ओलम्पिकमा नेपालका तर्फबाट ‘वाइल्ड-कार्ड’ इन्ट्रीमार्फत उनले सहभागिता जनाउने तय भएको थियो । उनी प्रथम भएको केही दिनपछि नेपाल एथ्लेटिक्स संघले ०७७ पुस २७ गते ओलम्पिक छनोटका लागि सिफारिस गरेको थियो ।
संघका अध्यक्ष राजीव विक्रम शाहले हस्ताक्षर गर्दै उनलाई सहभागिता जनाएको पत्र पठाए । उक्त पत्रसँगै पार्कीलाई सम्मान गरेको फोटो पनि हालियो । तर, ओलम्पिक नजिकिँदा भने पार्कीलाई सहभागिता वञ्चित गरियो । उनलाई सहभागिता नगराउने भन्दै नेपाल ओलम्पिक संघ, राखेप र एथ्लेटिक्स संघले पार्कीलाई जनकारी गराए ।
म्याराथनको हकमा कोटाभन्दा धेरै आवेदन परेको नेपालबाट म्याराथन नभएर एथलेटिक्सको महिला विधाको सय मिटरमा सरस्वती चौधरीको नाम सिफारिस गरिएको छ । अब गोपीको स्थानमा सरस्वतीले सहभागिता जनाउने छन् ।
उनले आफूलाई कमजोर बनाउने काम भएको बताएका छन् उनले भने, “मैले भन्न मिल्दैन, कमजोरी हाम्रोबाट नै भएको छ । अन्तिम समयमा आएर मेरो नाम हटाउने निर्णय यही निकायबाट भएको हो । मलाई कमजोर बनाउने काम पनि यही निकायबाट भएको हो ।”
यही प्रतियोगिताका लागि भनेर गोपीले डेढ वर्षदेखि तयारी गरिरहेका छन् । उनले साथीहरुसँग ऋण मागेर तयारी गरे । नेपालगञ्ज म्याराथन, एथ्लेटिक्स संघका अध्यक्षको सिफारिस अनि ओलम्पिक संघको निर्णय यो सबै गोपीका लागि अहिले भ्रम भएको छ ।
मिहनत गरिरहेका पार्कीको अन्तिम समयमा आएर नाम सूचिबाट निकालिएको छ । उनी अहिले धेरै कुरा सोच्न सक्ने अवस्थामा छैनन् । किनभने हरेक खेलाडीको ओलम्पिक सपना हुन्छ । खेल जीवन सफल बनाउन ओलम्पिकमा सहभागिता जनाउने उनीहरुको चाहना हुन्छ । सहभागी मात्र होइन देशका लागि स्वर्ण जित्न सपना पनि गाँसिएको हुन्छ । यो सपना अन्तिम समयमा टुट्दा उ निकै कमजोर बन्छ । देशका लागि खेल्ने खेलाडीको सपनामाथि प्रहार गरिएको भन्दै अहिले आलोचना भइरहेको छ ।
गोपीले भने, “खेलाडीको सपनामाथि प्रहार भयो । उती बेला नाटक गरेर बोल्ने संघका पदाधिकारी अहिले चुप छन् । उनीहरु मेरो पीडालाई सम्बोधन गर्ने अवस्थामा छैनन् । मेरा लागि बोल्ने संघ नै चुप बस्दा मैले कता गएर न्याए माग्ने भन्ने कुरा आउँछ । म झनै कमजोर भएको छु ।”
प्रतियोगिताका लागि गोपीले लामो समयदेखि तयारी गरेका थिए । बिहान ४ बजेदेखि तयारीमा जुट्ने उनले सधै देशका लागि सोचे । देशमा पदक ल्याउने आफ्नो मुख्य लक्ष्य तय गरे । तर, सबै कुरा सोचे जस्तो भएन । अन्तिम समयमा न उनको तयारीको कदर भयो नत त्यागको ।
अहिले उनलाई आफूलाई खेलाडी भनेर चिनाउन पनि नराम्रो लाग्छ । उनी आफू खेलाडी भएकोमा गर्व गर्दैनन् । गर्व गरुन पनि कसरी ? जुन खेलबाट उनले देशका लागि पदक जिते आज उसै खेलले उनको अपमान गरेको छ ।
“बिहान ५ बजे उठेर ट्राफिक प्रहरीले आफ्नो ड्युटी गर्थे भने मैले ४ बजे उठेर देशका लागि ड्युटी गर्थे । मलाई अहिले आफू खेलाडी हुँ भन्दै चिनाउन पनि लाज लाग्छ । देशका लागि सागमा पदक जितेँ । अहिले उक्त पदक पनि खोसिएको छ । मेरो विषयमा केही कुरा मिडियाले बोले पनि संघका पदाधिकारी चुप छन् । कारण किन हो मलाई पनि थाहा छैन । प्राय: कमजोरी गर्न व्यक्ति सधै पछि हट्छ भन्ने भनाइ छ, त्यही भएर होला अहिले संघका पदाधिकारी पनि बोल्न सकेका छैनन्,” पार्कीले भने ।
उनले बेला–बेला आफूलाई कमजोर सम्झन्छन् । कुनै बेला देशका लागि खेल्दैन भन्ने सोच पनि उनलाई आउँछ । अहिले उनले खेल नै छोडेर अन्य कुनै पेशा अंगाले भने नेपालले एक असल खेलाडी गुमाउने छ ।
उसोत संघ र खेल निकायले गर्ने यस्तै कमजोरीका कारण खेलाडी आफ्नो खेल जीवनलाई त्यागेर अन्य पेशा अंगाल्ने गर्दछन् । बेलाबेलामा संघबाट हुने यस्तै क्रियाकलापले गर्दा उनीहरुलाई आफ्नो भविष्यप्रति सोच्नुपर्ने अवस्था आउँछ ।
घरेलु मैदानमा सम्पन्न भएको १३ औं सागको चार दिनअघि कीर्तिमानी खेलाडी तुलसा खत्री कतार पुगिन् । यसमा उनको कमजोरी भने थिएन । परिवारको कमजोर आर्थिक अवस्था देखेर उनी कतार गइन । यसमा उनको कुनै कमजोरी भनेछैन । संघले वर्षमा एक पनि प्रतियोगिता नगर्दा उनले आफ्नो भविष्य नदेखि विदेशीनु ठूलो कुरा भने होइन ।
एथ्लेटिक्स संघ र खेल निकायले गर्दा फेरि नेपालले पार्कीजस्ता खेलाडीलाई पनि विदेशीन बाध्य बनाइ रहेका छन् । खेल र खेलाडीलाई राष्ट्रको गहना भन्ने तर, कुन चाहीँ गहना हो भनेर क्रिकेट खेलाडी सन्दीप लामिछानेले सोधेको प्रश्न यहाँ पनि लागु हुन्छ ।
पार्की अहिले लाचार छन् । उनलाई फेसबुकमा साहानुभूति जनाउने धेरै छन् । उनलाई उक्त साहानुभूतीले केही फरक पर्दैन । किनेभने हरेक टुटेको चिज, वस्तु या व्यक्ति जोडिन्छ भन्ने छैन ।




















प्रतिक्रिया