काठमाडौं । मध्य तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक बढेकाले ‘लू’ को खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ ।
विभागले मध्य तराईका जिल्लामा ५ दिनसम्म तातो हावा अर्थात ‘लू’ चल्ने खतरा छ । ‘खासगरी मध्य तराई र आसपास जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। त्यसकारण सतर्क रहन जुरूरी छ ।’ महाशाखाले स्पष्ट पारेको छ ।
आज शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ। पछिल्लो केही दिनयता काठमाडौँको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ। काठमाडौँ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ । पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ
गर्मी बढी हुँदा तातो हावा चल्ने र ‘लू’ लाग्ने सम्भावना बढी रहेकाले सकेसम्म घर बाहिर ननिस्किने र वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरुलाई विशेष ख्याल गर्न महाशाखाले अपील गरेको छ ।
पछिल्लो ५ दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लागेकाले अधिकतम तापक्रम बढिरहेको छ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । साथै पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको महाशाखाले जनाएको छ । मनसुन नभित्रिएसम्म अर्थात असारको पहिलो सातासम्म तापक्रम केही दिन बढ्ने महाशाखाले अनुमान गरेको छ ।
मनसुनी वायु सक्रिय नरहे पनि देशका पहाडी भेगमा भने केही दिनमा छिटफुट वर्षाको सम्भावना पनि रहेको मौसमविदले जनाएका छन् ।





















प्रतिक्रिया