Logo

प्रमुख समाचार

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने



जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आकस्मिक रूपमा आजै विश्वासको मत लिन लागेका हुन् ।

मंगलबार साँझ ५ बजे प्रदेश सभाको आकस्मिक बैठक बोलाएर मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको जनता समाजवादी पार्टीका सांसद रामअतिश यादवले जानकारी दिए ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । एमालेसहितका दलको समर्थनमा गत पुस २७ गते यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, एमाले गत चैत २१ गते मधेस सरकारबाट बाहिरिएको थियो भने जेठ १ गते समर्थन फिर्ता लिएको थियो । त्यसो नगरे सर्वोच्च अदालतमा रिट परी कानुनी अड्चन आउने भन्दै मुख्यमन्त्री यादवले आकस्मिक बैठकमार्फत विश्वासको मत लिन लागेका हुन् ।

सरोजकुमार यादव गत पुस २७ गते नेकपा एमाले, जसपा र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

एमालेले त्यतिबेला तीन वटा मन्त्रालय पाएको थियो । भौतिक पूर्वा‍‍धार मन्त्रालयमा सरोजकुमार यादव, गृह तथा सञ्चार मन्त्रालयमा शत्रुधनप्रसाद सिंह र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयमा राजकुमार लेखी थिए । त्यसयता कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र जसपा सरकारमा सहभागी छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १३:०८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।