Logo

अन्तर्राष्ट्रिय

एनआरएनएः आठौँ मध्य पूर्व क्षेत्रीय सम्मेलन बिहीबारबाट ओमनको मस्कटमा सुरु

रक्षामन्त्री पूर्णबहादुर खड्काद्वारा उद्घाटन, श्रमिकका सरोकार र समस्याबारे बृहत छलफल हुने



मस्कोट । आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बिहीबारबाट ओमनको मस्कटमा सुरु भएको छ ।

‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा आयोजित सम्मेलनको  उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन् ।

सम्मेलनको पहिलो दिन आज उद्घाटन सत्रसहित गैरआवासीय नेपाली संघको सांगठनिक एवं राष्ट्रिय समन्वय परिषद्को बारेमा छलफल हुँदैछ । यस्तै, दोस्रो र तेस्रो दिन क्रमशः वैदेशिक, रोजगार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा विभिन्न सत्रमा घनीभूत छलफल हुनेछ ।

मुख्यतया, मध्य पूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्नएकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुने कार्यतालिका रहेको आयोजकले जनाएको छ ।

सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेल–जीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिने बताइएको छ ।  वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ । श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रीत छ ।

सम्मेलनमा पूर्व उपप्रधानमन्त्री एवं सांसद रघुवीर महासेठ, वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, कार्यकारी निर्देशक द्वारिका उप्रेती, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारी, मन्त्रालयका सल्लाहकार डा आभासकुमार लाभलगायतको उपस्थिति रहेको छ ।

यस्तै, नेपाली दुतावास, बहराईनका राजदूत तिर्थराज वाग्ले, नेपाली राजदूत, साउदी अरबका  राजदूत  नवराज सुवेदी, नेपाली दुतावास, कतारका राजदूत डा. नरेशबिक्रम ढकाल, नेपाली दुतावास, ओमनका राजदूत डोरनाथ अर्याल अन्य सरोकारवाला निकायका पदाधिकारी, गैरआवासीय नेपाली संघका अध्यक्ष, पूर्व अध्यक्ष, संरक्षक, पदाधिकारी, सदस्य लगायत विभिन्न मुलुकका एनसीसीका प्रतिनिधि, एनआरएनएका अभियन्ता तथा सञ्चारकर्मी लगायतको सहभागिता सम्मेलनमा  रहेको छ ।

सम्मेलनमा मध्य पूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शनिबार (३० जून, २०२३) सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १६:५३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।