मदिराको क्षेत्रमा बहु उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीबाट उत्पादन हुने बियरको गुणस्तर एकदमै तल्लो स्तरको रहेको पाईएको छ । खेतान समूहले सञ्चालन गरेको गोर्खा ब्रुअरीद्वारा उत्पादन हुने टुबोर्ग, कार्ल्जबर्ग, सानमिगल, गोर्खा जस्ता बियरदेखि एप्पल साईडरसम्मका उत्पादनहरु गुणस्तरहीन र विषाक्त रहेको पाईएको हो ।
उपभोक्ता अधिकारकर्मीहरुले यस्ता उत्पादनको सेवनले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकोले सम्बन्धित निकायले चासो लिनु पर्ने तर्फ सचेत गराएका छन् । यस्ता गुणस्तरहीन उत्पादन धमाधम बेचेर मानव स्वास्थ्य माथी गम्भीर खेलवाड गर्दा पनि नियमन निकायले कुनै कदम नचाल्नु शंकास्पद रहेको सरोकारवालाहरुले बताएका छन् ।
यस कम्पनीले उत्पादन गर्ने मापदण्ड अनुसार कार्ल्जबग बियरमा ५ प्रतिशत, टुबोर्ग क्यानमा ५.५ प्रतिशत, टुबोर्ग क्लासिकमा ६.७ प्रतिशत, टुबोर्ग गोल्डमा ५.८ प्रतिशत, सान मिगेलमा ५ प्रतिशत, गोर्खामा ५.५ प्रतिशत, गोर्खा स्ट्रङमा ६ प्रतिशत, एप्पल साईडरमा ४.५ प्रतिशत, १६६४ मा ५.५ प्रतिशत र १६६४ ब्लान्समा ५ प्रतिशत अल्कोहलको मात्रा हुनु पर्छ । तर गुणस्तरहीन कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गरिएका बियरहरुमा तोकिएको मापदण्ड बिपरीत अल्कोहलको मात्रा नै फरक-फरक हुने गरेको उपभोक्ता अधिकारकर्मीहरुको दाबी छ ।
गोर्खा ब्रुअरीले यति धेरै बदमासी गर्नुमा माथिल्लो निकायकै आशिर्वाद रहेको बताईएको छ । एक गोप्य श्रोतका अनुसार आन्तरिक राजस्व कार्यालयको समेत भरथेग यस उद्योगमा रहेको छ । यदि त्यस्तो नहुदो हो त मदिरा पारखी उपभोक्ताको स्वास्थ्य माथी यतिसम्म गम्भीर खेलबाड हुँदा त्यो निकाय चुप लागेर बस्नु हुने थिएन । उद्योगले सरकारी हाकिमहरुलाई बुझाएको नजरानाको भरमा जे गर्न पनि छुट दिईएको छ ।
गोर्खा ब्रुअरीको बदमाशी देखिएपछि उपभोक्ता अधिकारकर्मीहरुले ब्यापक आवाज उठाएपछि राजस्व कार्यालयले यस कम्पनीलाई कारवाही गर्ने बताएको थियो । गुणस्तरहीन उत्पादन बन्द गरेर छानिबिन गरिरहेको राजस्व कार्यालय पछिल्लो समय भने चुपचाप जस्तै देखिन्छ ।
बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणको लागी भन्दै गरिएको लकडाउनले अरु क्षेत्र र व्यवसाय तहस नहस भएका बेला गोर्खा ब्रुअरी भने जनस्वास्थ्य माथी खेलबाड गरेर मालामाल बनेको श्रोत बताउँछ । एकातिर लकडाउनको समयमा सम्बन्धित निकाय सक्रिय नहुँदा अनुगमन पनि नहुने र लकडाउन फुकुवा हुँनासथ सुरु भएका मुख्य चाडपर्वको फाईदा यो कम्पनीले राम्रैसँग उठाएको छ ।
गोर्खा ब्रुअरीले उत्पादन गरेका बियरहरुमा कम गुणस्तर भेटिएपछि आन्तरिक राजस्व विभागले कारवाही गर्ने भन्दै नेपाली लोकल रक्सी सरहको मान्यता दिएको बताएको थियो । गल्ती भेटिई सकिएकोले हाललाई लोकल रक्सी सरह मान्यता दिएर अनुसन्धान हुदैछ, अहिले बियरको रुपमा तोकिएको प्रतिलिटर १६५ होईन ४३० रुपैयाँ लिटरले अन्तशुल्क तिर्न निर्देशन दिईएको छ । यो अन्तशुल्क भनेको लोकल रक्सी सरह हो । अरु गल्ती देखिए गल्ती अनुसारकै सजाय हुन्छ ।उक्त कार्यालयले भनेको थियो । तर कम्पनीले कमजोर गुणस्तारको बियर बेचेर उपभोक्ताको पैसा र स्वास्थ्य दुवै लुट्दा अहिले चुपचाप देखिन्छ ।
सरकारी सरोकारवाला निकाय नै निदाएको देखेपछि उपभोक्ता अधिकारकर्मीहरु चिन्तित समेत देखिएका छन् । दशैं तिहार जस्ता चाडवाडका बेला बढीभन्दा बढी मदिरा खपत हुने हुँदा पनि अधिकारकर्मीहरुमा चिन्ता देखिएको हो । उनीहरुले नियमनकारी निकायले छानबिन गर्ने बताएकोले त्यहाँबाट स्पष्ट जवाफ नआउँदासम्म गोर्खा ब्रुअरीका उत्पादनहरु सेवन नगर्न पनि सुझाएका छन् ।
एकातिर महामारी कहिलेसम्म रहने हो थाहा नभएका बेला स्वास्थ्य सुरक्षा अपनाएर चाडबाड मनाउँनु पर्ने आवश्यकता छ भने अर्कोतिर यस्ता गुणस्तरहिन बियरको सेवनले आयु छोट्याई दिन्छ । त्यसैले गुणस्तरीय नहुन्जेलसम्म सेवन नै नगरौं एक उपभोक्ता अधिकारकर्मीले आग्रह गरे ।
यसबारेमा गोर्खा ब्रुअरीका असिम अर्यालसँग बुझ्न खोज्दा आफुहरुको बिज्ञप्ति हेर्नु भन्दै अरु सञ्चार माध्यमको नाम लिए । “हाम्रो समाचार अरु सञ्चार माध्यममा आको छ त्यो हेर्नुहोला ।”- अर्यालको भनाई रहेको थियो ।




















प्रतिक्रिया