सर्वसाधारणलाई घरबाट निस्किएपछि सबैभन्दा बढी दुई वटा कुराले सताउँछ। पहिलोः बाटो कहाँबाट काट्ने? दोस्रोः दिसा-पिसाब लाग्यो भने कहाँ जाने? काठमाडौं उपत्यकामा नजिक–नजिक आकासे पुल छैनन्। यता, भएका जेब्राक्रसहरू पनि मेटिसकेका छन्। सार्वजनिक शौचालय पनि पर्याप्त छैनन्।
राजधानीमा जति सार्वजनिक शौचालय छन्, ती छिर्न सक्ने अवस्थाका छैन। हिजो दिउँसोको कुराको बागबजारस्थित पिके क्याम्पसको छेउमा एक जना युवक सबैले देख्नेगरी पिसाब फेरिरहेका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचित भएर आउने बित्तिकै सार्वजनिक शौचालयको व्यवस्थापन गर्ने घोषणा गरेका थिए।
उनले आफ्नो निजी शौचालयलाई सार्वजनिक बनाउन चाहनेसँग आवेदनसमेत आह्वान गरेका थिए। सयौंले आवेदन दिए। तर, एउटाले पनि कार्यान्वयन गरेनन्। सस्तो लोकप्रियता कमाउन र चर्चामा आउनका लागि व्यवसायीहरूले त्यो गरेको प्रमाणित भइसकेको छ।
महानगरले सार्वजनिक शौचालय बनाउनतर्फ चासो देखाएको छैन। यही बसोबास गर्नेलाई समेत बिहान हिँडेपछि शौचालय प्रयोग गर्न मुस्किल छ। झन् गाउँगाउँबाट आएकालाई महाभारत छ। कामले टाढा–टाढाबाट आएकालाई साह्रै समस्या छ। सार्वजनिक शौचालय प्रयोग गरेबापत १० देखि २० रुपैयाँ लिन्छन्।
पैसा नभएकाले त शौचालय प्रयोग गर्न नपाउने भए। अनि उनीहरूले के गर्ने ? सडकमै दिसा-पिसाब गरिदिने ? कसैले दिसा-पिसाब थेग्न सक्दैनन्। कसैलाई दिसा-पिसाब च्यापेर धेरै नै समस्या परेको हुन्छ। उनीहरूले बाटोमा नगरे कहाँ गर्ने ? काठमाडौं उपत्यकाका पालिकाहरूले यो कुरा सोच्नुपर्दैन?
न सार्वजनिक शौचालय बनाउन चासो दिन्छन् न भएकामा सरसफाइ छ। मेयर बालेनलाई प्रश्न,‘पैसा नहुनेले कहाँ गएर दिसा-पिसाब गर्ने ? महानगरपालिका र वडामा आएर गर्ने ?’ दिसा-पिसाब गर्न त निःशुल्क हुनुपर्यो। कर उठाउने नै हो भने अन्य क्षेत्र छन्। बानेश्वर, रत्नपार्कमा सडकभरि दिसा हुन्छ।
सर्वसाधारणलाई हिँड्न पनि सकस छ। महानगरपालिकाले सार्वजनिक शौचालय बनाउन चासो दिएको भए र शौचालय प्रयोग गरेवापत पैसा नलिइदिएको भए सडक त फोहोर हुँदैनथ्यो। पहिलेपहिलेका बुढापाकाहरू भन्थेँ, ‘काठमाडौं दिसा पनि बिक्री हुने ठाउँ हो।’ अहिले आएर ठ्याक्कै त्यस्तै भएको छ।
दिसा गरेको पनि पैसा तिर्नुपर्ने। होटेल, रेष्टुरेण्टवालाहरूले खाना बेच्छ, पैसा लिन्छ। ग्राहकले शौचालय प्रयोग गर्नुपर्यो भन्नेबित्तिकै ताला लगाएको बहाना बनाउँछन्। होटेल, रेष्टुरेण्टहरूले आफ्नो खाना बेच्न छोडिदिए हुन्छ। अहिले पनि आकाशे पुलमाथि हेर्नुपर्छ, दिसाको थुप्रो हुन्छ।
काठमाडौंका मेयर बालेनले सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्छ। अहिले सार्वजनिक शौचालयले लिइरहेको शुल्क हटाउनुपर्छ। होइन भने दिसा-पिसाब च्यापेकाले बाटोमै गरिदिन्छन्। काठमाडौं दुर्गन्धित सहर बन्छ। उपत्यकाभित्रको सडक निकै फोहोर छ। हतारोमा हिँड्दा कहिलेकाहीँ जुत्ताले दिसा कुल्चिन्छ।
पैदल यात्रीलाई पनि निकै समस्या छ। केही महिना अगाडिको कुरा हो, भक्तपुरको सूर्यविनायक नगरपालिका अगाडिको मेन रोडमै एक जना महिला दिउँसै दिसा गरिरहेकी थिइन्। नगरपालिकामा सेवा लिन आएकी उनले समस्या परेपछि चाबी मागेकी थिइन्। नगरपालिकाका कर्मचारीले चाबी नदिएपछि उनले बाध्य भएर सडकमै दिसा गरेकी हुन्।
भनिन्छ नि,‘गर्नेलाई भन्दा देख्नेलाई लाज’। ठ्याक्कै त्यस्तै अवस्था बनेको थियो। बाटो हिँड्नेहरूलाई पनि त्यो दृश्यले समस्या भयो। त्यो घटनापछि पनि नगरपालिकाको चेत खुलेको छैन। नगरपालिकाको शौचालय बाहिरे छ। कर्मचारीहरू आफूले प्रयोग गर्नुपर्ने बेला चाबी लान्छन्, फेरि बन्द गर्दिहाल्छन्।
यसले गर्दा सेवाग्राही मर्कामा परे। उसै पनि सरकारी काम निकै ढिलो हुन्छ। बिहान कार्यालय खुल्नासाथ आएका सेवाग्राहीको काम कार्यालय बन्द हुँदासम्म सकिँदैन। यस्तोमा शौचालय कहाँ जाने ? झन् भक्तपुरमा त सार्वजनिक शौचालय नै छैन। सार्वजनिक शौचालय प्रयोग गरे पनि पैसा लिइन्छ।
तर, के सुविधा छ ? सार्वजनिक शौचालयको नाममा लुटतन्त्र मच्चाइएको छ। सार्वजनिक शौचालय भएको स्थानको परपरसम्म दुर्गन्ध आइरहेको हुन्छ। पराग खाएर थुकेको हुन्छ। कतिपय शौचालयमा चुकुल हुँदैन। चुरोटका ठुँटाहरू फालिएको हुन्छन्। न पानी हुन्छ न साबुन।
सरकारले ‘दिसा-पिसाब मुक्त राष्ट्र’ घोषणा गरिसकेको छ। मुलुक दिसा-पिसाब मुक्त भएको हेर्न कहिँकतै जानै पर्दैन, हिँड्दाहिँड्दै पुलमुनि हेरे हुन्छ। पुलमुनि दिसा-पिसाब गरिराखेका हुन्छन्। बाटोमा हिँड्ने सबैसँग पैसा हुँदैन। कुनै माग्न बसेका हुन्छन्, कुनै मानसिकता गुमाएका हुन्छन्।
उनीहरूलाई कहाँ छ शौचालयको व्यवस्था ? सडक छेउछाउ पेट्रोल पम्प छन्। लामो यात्रामा घण्टौं यात्रा गर्नुपर्ने हुन्छ। त्यस्तो बेलामा दिसा-पिसाब लाग्न सक्छ। पेट्रोल पम्पवालाहरूले पेट्रोल बेच्छन्, तर शौचालय प्रयोग गर्न दिँदैनन्। पछिल्लो समय काठमाडौं उपत्यकामा सुगरका रोगी र मिर्गौलापीडित छन्।
तिनले दिसा-पिसाब च्याप्न सक्दैनन्। दिसा-पिसाब सबैलाई लाग्छ। दिसा-पिसाब गर्न दिनुपर्छ भनेर जनतामा नि चेतना आएनन् सरकारमा पनि। एक ठाउँबाट अर्को ठाउँ सबैका लागि नौलो हुन्छ। बुढापाकाले भन्छन् नि, ‘कुकुर पनि आफ्नो ठाउँमा हिरो नै हुन्छ।’ ललितपुरवासी भक्तपुर, भक्तपुरवासी ललितपुर, काठमाडौंवासी ललितपुर जान्छन्।
अब दिसा-पिसाब लाग्यो भन्दैमा घर फर्किने कुरो रहेनन्। त्यतिबेला कति समस्या हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ। अप्ठेरो परेकोलाई घरमा शौचालय प्रयोग गर्न दिँदा केही बिग्रिने त होइन। अर्को समस्या हो जेब्राक्रस र आकाशे पुल। बाटो काट्न निकै गाह्रो छ। जेब्राक्रस र आकाशे पुल टाढा–टाढा छन्।
जेबाक्रसका सेता धर्काहरू पनि मेटिसकेका छन्। फुटपाथ व्यवसायीहरूले सडकपेटी त ढाके नै, त्यतिबेला नपुगेर आकाशे पुल पनि ढाकेका छन्। काठमाडौं महानगरपालिकाको नगर प्रहरीहरू पछिल्लो समय अलिक सुस्ताएका छन्। जसले गर्दा पुनः फुटपाथ व्यवसायीहरू सलबलाउन थालेका छन्।
काठमाडौंमा ७७ वटै जिल्लाका सर्वसाधारण आउँछन्। कुनै रोजगारीको खोजीमा आउँछन् त कुनै पढ्नका लागि। उपचार गर्नका लागि पनि काठमाडौं नै आउने गरिएको छ। गाउँबाट आएकालाई सबैले ठग्छन्। काठमाडौं लुट्ने ठाउँ रहेछ भन्ने त छर्लङ्ग भएको छ। सार्वजनिक शौचालयको नाममा पनि ठगेकै छ।
होटेलदेखि लिएर सार्वजनिक यातायात सबैले लुट्छन्। सीधासाधी देख्नेबित्तिकै ‘मुर्गा’ बनाउने। काठमाडौंबासीमा मानवता नै भएन। देशको राजधानी सबैभन्दा फोहोर ठाउँ बनेको छ। उपत्यकाभित्रका जनप्रतिनिधिहरू मुलुकको राजधानी भनेर घमन्ड गर्छन्। जुन ठाउँमा सडकमा दिसा-पिसाब गरिन्छ, त्यो ठाउँको जनप्रतिनिधि भनेर के घमन्ड गर्नु!
काठमाडौँवासी कति स्वार्थी छन् भन्ने आकलन लगाउन गाह्रो छैन। उनीहरू शौचालय प्रयोग गर्न त दिँदैनन् तर बाहिरी जिल्लावासीले त पानी दिएका छन्, फोहोर फाल्न दिएका छन्। अन्न पठाएका छन्। अनि त काठमाडौँवासी बाँचेका छन्। बाहिरी जिल्लाका आम नागरिकले पानी रोकिदिने, खाद्य नपठाउने र फोहोर फाल्न नदिने हो भने काठमाडौंवासीको अवस्था के होला?
















प्रतिक्रिया