Logo

राजनीति

अधिकार माग्दै प्रदेश मुख्यमन्त्रीहरू, हेटौंडामा भेला



काठमाडौं– सातवटै प्रदेशका मुख्यमन्त्रीहरू आज बागमती प्रदेशको हेटौंडामा भेला भएका छन्। संघसँग अधिकार मागका विषयमा छलफल गर्न उनीहरू एकै ठाउँमा भेला भएका हुन्।

संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा देखिएका समस्या र त्यसको समाधानका लागि संघलाई दबाब दिन साझा धारणा बनाउने उनीहरूको उद्देश्य रहेको छ।

संघीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष्ट्रिय तथ्याङ्कको एकीकृत अभिलेख प्रणाली विकास गर्ने, साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्ने, प्रदेशले पाउने अधिकारलाई प्रत्यायोजन गर्ने लगायत विषयमा छलफल हुने बताइएको छ।

यसअघि गत असारमा पोखरामा बसेको मुख्यमन्त्रीहरूको बैठकले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार ६ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेको थियो। ६ महिना वितिसक्दा पनि सरकारले आफूहरूका माग सम्बोधनमा चासो नदिएको उनीहरूको आरोप छ।

आफूहरूका मागमा संघीय सरकार गम्भीर नदेखिएपछि पुन: भेला हुनुपरेको उनीहरूको गुनासो छ। मुख्यमन्त्रीहरूको भेलाले संघ र प्रदेशमा देखिएको असन्तुलन र समस्याका विषयमा छलफल गरी संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिनेछ।

भेलामा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत हुनेछ।

भोलिसम्म चल्ने भेलामा सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको छ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १२:३५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।