Logo

प्रमुख समाचार

इपिएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण सरकारबाटै मारिए २ युवा



काठमाडाैं । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको छ। मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपिएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य भड्किएका थिए। भड्किएका युवाको अनियन्त्रित भिड र प्रहरीबीच झडप हुँदा दुईजनाको ज्यान गएको हो।

झडपमा ज्यान गुमाउनेमा दैलेख महाबु गाउँपालिका–६, रानीवनका २३ वर्षीय सुजन राउत र अछाम चौरपाटी गाउँपालिका–१, सिउडीका २२ वर्षीय वीरेन्द्र शाह छन्। घाइते भएका राउतको इमाडोलस्थित किस्ट अस्पतालमा मृत्यु भएको थियो।

अस्पताल पुर्‍याएको ३७ मिनेटमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। यस्तै झडपकै क्रममा घाइते भएका शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ।

इपिएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रमा काम गर्न १५ हजार आठ सय कामदारलाई कोरिया पठाउन भाषा परीक्षाका लागि मंसिर १९ गते आवेदन मागेको थियो।

आवेदनका लागि सन् २०२३ भित्र दक्षिण कोरियाका लागि आवेदन नदिएको हुनुपर्ने मापदण्ड तोकिएको थियो। जसअनुसार यसअघि साउनमा इपिएस शाखाले नै आह्वान गरेको पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ सेक्टर) मा आवेदन दिएका झन्डै २८ हजार दक्षिण कोरिया जान चाहने युवा आवेदनका लागि अयोग्य भएका थिए।

इपिएस शाखाको यही मापदण्डले आवेदन दिनबाट वञ्चित युवा मंसिर १९ गतेदेखि आन्दोलित थिए। तीनैमध्ये सुरज पाठकसहितका १८ जना आफूले पनि आवेदन दिन पाउनुपर्ने माग राखेर इपिएस शाखा, वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयविरुद्ध रिट निवेदन बोकेर उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालत पाटनले पुस ५ गते रिटमा प्रारम्भिक सुनुवाइ गर्दै मंसिर १९ को सूचनाबमोजिम खोलिएको ‘आवेदन फाराम भर्न रोक नलगाउनु र रिट निवेदकलाई पनि आवेदन भर्न दिनू’ भनेर विपक्षीका नाममा अन्तरिम आदेश दिएको थियो।

आक्रोशित युवाले शुक्रबार बिहानैदेखि ग्वार्कोस्थित इपिएस कोरिया शाखामा पुगेर प्रदर्शन गरिरहेका थिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : १४ पुष २०८०, शनिबार ११:२९   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।