Logo

प्रमुख समाचार

टालाटुली बाटुली कति राम्री पुतलीजस्तो सरकार : कांग्रेस–एमाले मिलेर सरकार बनाऔं



काठमाडौं । सत्ता गठबन्धनलाई कमजोर पारेर आफू सत्तामा पुग्ने रणनीतिक उदेश्यका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लागि परेका छन् ।
देउवा आफैँ सत्ताका माहिर खेलाडी हुन् । अहिलेको सत्ता गठबन्धनलाई भत्काउनका लागि उनले माधव नेपाललाई प्रधानमन्त्री बन्न ढोक्सा थापिसकेका छन् ।

तर, अहिले नै सत्ता गठबन्धन भत्किने सम्भावना भने कमजोर रहेको छ । अहिले संसदको अंक गणित नै अप्ठ्यारो अवस्थामा रहेको र कांग्रेस र एमाले बाहेकका अन्य दलहरू मिल्दा पनि सरकार बन्न सक्ने अवस्था देखिँदैन भने कांग्रेस र एमाले मिलेको अवस्थामा भने यी दुई दलको सुविधाजनकको सरकार निर्माण हुन सक्छ ।

संसदको पहिलो र दोस्रो दल मिलेर विश्वका धेरै देशमा सरकार निर्माण भएका छन् । नेपालमा भने राजनीतिक दलहरूमा राजनीतिक चरित्र नै नभएको र एकले अर्कोलाई विश्वास गर्न नसक्ने अवस्था रहेकाले गर्दा अहिलेसम्म बनेको सत्ता गठबन्धनका सरकारहरू लामो समयसम्म टिक्न सकेका छैनन ।

त्यसको एउटै उदेश्य हो सत्ता स्वार्थ र व्यक्तिगत स्वार्थ पूरा गर्न । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल गठबन्धन फेर्न माहिर रहेका छन् । उनले पालैपालो कांग्रेस र एमालेलाई विरालोले मुसा खेलाएजस्तो गरी खेलाईरहेका छन् ।

संसदमा कांग्रेसका ८९ सांसद रहेका छन् भने एमालेका ७८ सांसद रहेका छन् तर, माओवादीका ३२ मात्र सांसद रहेका भएपनि त्यही ३२ सिटलाई देखाएर दाहालले पालैपालो कांग्रेस–एमालेलाई खेलाईरहेका छन् ।

प्रधानमन्त्री दाहालकै कारण राजनीतिक अस्थिरता बढ्दै गएको छ भने प्रधानमन्त्री दाहालको अस्थिर चरित्रले गर्दा गठबन्धनहरू बन्ने र भत्किने गरेका छन् ।
केन्द्रमा सरकार परिवर्तन भईरहने भएकाले गर्दा त्यसको प्रत्यक्ष असर प्रदेश सरकारहरूमा समेत पर्दै आएको छ ।

प्रायः सबै प्रदेशमा ५ वर्षको समयमा ४÷५जना मुख्यमन्त्री बन्न सक्ने अवस्था देखिएकोले गर्दा प्रदेश सरकारहरूले काम गर्न सक्ने सम्भावना ज्यादै न्यून देखिएको छ ।

अहिलेको राजनीतिक र आर्थिक निराशाले गर्दा युवावर्ग विदेशमा जान बाध्य पारिएका छन् । सामान्य जनताको हालत पहिलाको भन्दा विग्रिएको छ ।जनताको अवस्था बदल्छौँ भन्नेहरू नै सरकारमा पुगेका भएपनि जनताको होइन उनीहरूको परिवार, नातागोताको अवस्था भने फेरिएको छ ।

आफैँ आफैँमा सत्ता स्वार्थमा लडेर राजनीतिक दलहरूले जनतालाई सत्तामा पुग्ने भर्‍याङ्गमात्र बनाएका हुनाले विकास निर्माणले समेत गति लिन सकेको छैन भने सत्तामा पुगेका दलका नेताहरू र कार्यकर्ताहरू भ्रष्टाचार र विभिन्न प्रकारका काण्डहरूमा जोडिएका छन् ।

मुलुकमा संस्थागत भष्टाचार बढ्दै गएको छ । ठुला ठुला भ्रष्टाचारका काण्डहरू भएपनि एकाध बाहेक राजनीतिक क्षेत्रका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सकिएको छैन ।

पूर्व प्रधानमन्त्रीहरू नै भ्रष्टाचार काण्डमा मुछिएका भएपनि उनीहरूलाई सत्ता स्वार्थकै लागि उन्मुक्ति दिएको छ । सत्तामा रहेका दलका नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेपनि अनुसन्धान सम्म हुन सक्दैन तर, भरियाहरूलाई पक्राउ गरेर जस लिने गरिएको छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि भएका सबै भ्रष्टाचारका काण्डहरूको छानविन गर्ने हो भने प्रायः सबै दलका नेताहरूको बास जेलमा हुने निश्चित जस्तै रहेको छ । सत्तामा नपुन्जेल जनतालाई ढाँट्दै सबै प्रकारका भ्रष्टाचारहरूको छानविन गर्दछौँ भन्ने नेताहरू नै भ्रष्टाचारमा मुछिएका छन् ।

केहीलाई अदालतमा समेत सेटिङ्ग मिलाएर सफाई दिलाउने कार्य समेत हुँदै आएको छ । यी सबै कार्यहरूले गर्दा सरकार सरकार जस्तो नहुनु न्यायालय न्यायलयसस्तो नहुनु मुलुक र नेपाली जनताकै लागि दुर्भाग्यको विषय बनेको छ । सुशासन कायम गर्न र लोकतन्त्रको विकास गर्न निश्चित मूल्य, मान्यता र पद्दतिमा आधारित हुँदै शासन सञ्चालन गर्नुपर्नेमा त्यसो हुन सकेको छैन ।

सबै राजनीतिक दलहरूले सुशासन दिने भनिरहेका भएपनि दलहरूबीचमा एकता कायम नहुन र आफ्नो दलको सिद्धान्त र मूल्य, मान्यता भन्दा सत्ता स्वार्थलाई हेरेर अघि बढेका हुनाले यही अवस्था रहेसम्म नत सुशासन कायम हुन सक्छ नत लोकतन्त्र नै बलियो हुन्छ ।

क्षणिक सत्ता स्वार्थलाई ध्यानमा राखेर अघि बढ्दा जनताको जीवनस्तरमा कहिल्यै पनि सुधार आउन सक्दैन भने विकास निर्माणले समेत गति लिन सक्दैन, अभियान साप्ताहिकमा खबर छ ।

यी सबै कारणहरूले गर्दा अब नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार निर्माण गरी मुलुकमा सुशासन र लोकतन्त्रलाई बलियो बनाउँदै जनताको हितमा लाग्नुको अर्को विकल्प देखिँदैन ।

टालाटुली बाटुली कतिराम्री पुतली जस्तो सरकार निर्माण हुने गरेकाले गर्दा कतिबेला पुतलीको टालो खस्छ त्यो कसैलाई थाहा छैन । टालो खस्ने वित्तिकै सरकार गिर्दछ । त्यसैले गर्दा अब टालाटुली बाटुली कति राम्री पुतली भनेजस्तो सरकार निर्माण गर्न‘ भनेको मुलुकलाई बर्बादीको बाटोमा लैजानु नै हो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार ०९:२०   :  बजे

450
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।