Logo

प्रमुख समाचार

बयान नसकिएसम्म कुर्सीबाट नउठ्ने रविकाे अडान



पोखरा । आफ्नो बयानमा सरकारी वकिल र प्रहरीले ढिलासुस्ती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बयान कक्ष नछोड्ने अडान लिएका छन् ।

प्रहरी हिरासतको अवधि लम्ब्याउने र अदालतमा छिटो पेश नगर्ने उद्देश्यसहित बयानमा ढिलासुस्ती गरेपछी लामिछानेले बुधबार बयान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीको कक्षमा आफू बसेको कुर्सी नछोड्ने अडान लिएका हुन् ।

कास्की जिल्ला प्रहरी कार्यालय स्रोतकाअनुसार उनलाई बयानका लागि भन्दै ३ बजे बयान कक्षमा बोलाईएको थियो ।

स्रोतकाअनुसार लामिछानेलाई आज जम्मा ३ वटा प्रश्न गरेर आजका लागि बयान सकिएको भन्दै भोलि पुनः बयान हुने भनियो । रविले आफू बयानका लागि तयार रहेको र प्रश्न बाँकी भए सबै प्रश्न गर्न अनुसन्धानकर्ताहरूलाई भनेका थिए ।

‘उनीहरु बयान गराउन नमानीकन उठ्न खोजे । त्यसपछि रविले म तयार छु, समय छ । प्रश्न भए सकौँ भने तर उनीहरु मानेनन्,’ स्रोत भन्छ ‘मलाई हिजो पनि दिनभरी सरकारी वकिल कार्यालय लगेर अलमल मात्रै गरेर राखियो ।

आज पनि दिनभरी बयान हुन्छ हुन्छ भन्दा भन्दै ३ बजेबाट सुरु गरेर जम्मा ३ वटा प्रश्न गरेर आज समय सकियो भनियो ।’ रविले बयान कक्षको कुर्सीबाट उठ्न नमाने पछि अहिले अनुसन्धान अधिकृतहरू अलमलमा परेका छन् ।

उनलाई मङ्गलबार बयानका लागि सरकारी वकिल कार्यालय पुर्‍याईएको थियो । तर, आज जिल्ला प्रहरी कार्यालयकै अर्को कक्षामा उनको बयान गराइँदै थियो । गत शुक्रबार काठमाडौँबाट पक्राउ गरेर कास्की पु¥याइएका लामिछानेलाई आइतबार अदालतमा पेश गरिएको थियो ।

जिल्ला अदालत कास्कीले उनीमाथि हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार देखि नै लागू हुनेगरि ६ दिन म्याद थपेको थियो । जसअनुसार बिहीबार अदालतको म्याद सकिदैछ ।

बयान सकिए पछि अदालतमा म्याद थपका लागि अन्य बाहना नहुने भएपछि ढिला सुस्तीको प्रयास भएको लामिछानेले आफ्ना वकिलहरुलाई बताएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार २०:४५   :  बजे

336
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।