Logo

प्रमुख समाचार

नेताको गति र मतिसँग जनता सन्तुष्ट छैनन् : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताका गति र मतिसँग नागरिक सन्तुष्ट हुन नसकेको टिप्पणी गरेका छन्।प्रजातन्त्र सेनानी संघको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यही कारणले नागरिकमा निराशा पैदा गरेको बताए।

‘विदेशमा एक घण्टामा हुने काम हामीकहाँ एक वर्ष लाग्छ। यसलाई हामीले सुधार गर्नैपर्छ।’ थापाले भने, ‘अर्को विषय भनेको नेतृत्वकर्ताको मति हो जुन भ्रष्टाचारसँग जोडिएको छ। भ्रष्टाचार न्यून गर्न लाग्नै पर्छ अनि मात्र आम नागरिकमा देखिएको निराशा चिर्न सफल हुन सकिन्छ।’

उनले जतिसुकै शक्तिशाली भए पनि सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गर्ने मान्छेलाई सरकारले छाड्दैन भन्ने सन्देश दिनुपर्ने बताए। ‘भ्रष्टाचारले गाँजेकाले ठिक गति समात्न सकिएको छैन। भ्रष्टाचार न्यून गर्न लाग्नै पर्छ। पार्टीभित्र र नेपाली जनताले सुनेका काण्ड सबैको छानबिन हुनुपर्छ।

वाइडबडी होस् कि लडाकु शिविर, ललितानिवास होस् कि गिरीबन्धु सबैलाई अनुसन्धानको दायरामा ल्याएर हामीले आम नागरिकलाई विश्वास दिलाउन सक्नुपर्छ। थापाले भने, ‘जुनसुकै पार्टीको मन्त्रीले गलत काम गरे पनि प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्न सक्ने ल्याकत राख्नुपर्छ। अनि मात्र केही सुधार गर्न सकिन्छ।’

अहिले स्थानीय तह, प्रदेश र संघमा कांग्रेस सरकारमा रहेको भन्दै काम भएन भनेर गनगन गर्ने छुट नभएको उनले बताए।

‘जताततै सरकारको जिम्मा हामीले लिने अनि यो भएन भनेर गनगन गर्न मिल्दैन। ८४ मा होइन अहिले नै गर्नुपर्छ। काम गरेर देखाउन तीन वर्ष पर्याप्त छ। थापाले भने, ‘ छोटो समयमा वीपी र गिरिजा सरकारले काम गरेको जस्तै गरी ८४ को चुनावमा जाँदा तीन वर्षमा हामीले यो–यो गर्‍यौं भनेर गन्न पाउनुपर्छ। हामीले एउटा मानक बनाउनै पर्छ।’

प्रकाशित मिति : २४ पुष २०८१, बुधबार ०८:२२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।