काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहार पर्वमा लोडसेडिङ नहुने स्पष्ट पार्दै आम उपभोक्तालाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गरेको छ । प्राधिकरणले तिहारको समयमा घरेलु उपभोक्ताको विद्युत् माग सहजै धान्न सकिने जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालकाअनुसार तिहार विशेषगरी लक्ष्मी पूजाको दिन सबैभन्दा बढी विद्युत् खपत हुने भए तापनि उद्योगधन्दा बन्द हुने भएकाले त्यस समयमा २०० देखि ३०० मेगावाटसम्म विद्युत् बचत हुने छ। सो अतिरिक्त विद्युत् सिधै घरेलु प्रयोगका लागि खपत गर्न सकिने भएकाले आपूर्तिमा कुनै समस्या नहुने उनको भनाइ छ ।
“पहिले तिहारको लक्ष्मी पूजामा सबैभन्दा बढी लोड हुन्छ भन्ने बुझाइ थियो,” ढकालले भने, “तर अहिले उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्ने भएकाले विद्युत् खेर जान थालेको अवस्था छ । अहिले जति बत्ती बालेर पर्व मनाए पनि पुग्छ ।”
प्राधिकरणले विद्युत् प्रणालीमा कुनै प्राविधिक समस्या आउन नदिन कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको छ ।
विगतका वर्षहरूको तथ्याङ्कअनुसार, तिहारमा विशेष गरी लक्ष्मी पूजाको साँझ ६ बजेदेखि ९ बजेसम्म विद्युत् खपत अत्यधिक बढ्ने गर्छ । प्राधिकरणका अनुसार यस समयमा खपत ३०–४० प्रतिशतसम्म वृद्धि हुने गरेको छ। अधिकतम माग १६०० मेगावाटसम्म पुग्ने अनुमान गरिएको छ।
प्राधिकरणले पछिल्लो समय नयाँ प्रसारण लाइन विस्तार, सबस्टेसनको स्तरोन्नति तथा अन्य पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएकोले विद्युत् आपूर्ति प्रणाली थप विश्वसनीय भएको जनाएको छ। यसका कारण आपूर्ति सुनिश्चित र भरपर्दो हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ ।




















प्रतिक्रिया