Logo

बैंकिङ

सामाजिक सुरक्षा कोषमा मनपरी खर्चः योगदानकर्ताको रकममा करोडौँ भार



काठमाडौं। योगदानकर्ताबाट संकलित रकममा सञ्चालन हुँदै आएको सामाजिक सुरक्षा कोषले आफ्ना कर्मचारीका विलासी खर्चमा गर्दै आएको मनपरीका कारण विवादमा तानिएको छ। यसै सन्दर्भमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले नै योगदानकर्ताकै रकममा वार्षिक करोडौं रुपैयाँको भार पार्ने गरी भवन भाडा लिएको खुलासा भएको छ। जसका कारण कोषका योगदानकर्ताको योगदानको रकम संकटम परेको छ।

त्यस्तै बि. सं २०७५ सालमा स्थापना भएको सामाजिक सुरक्षा कोषले घरभाडाका नाममा समेत मनपरी खर्छ गरेको भेटिएको छ। स्थापनाको सुरुमा बबरमहलस्थित काठमाडौं जिल्ला समन्वय समितिको कार्यालयमा बसेको यस कोषले समितिलाई मासिक ४ लाख ८० हजार रुपैयाँ भाडा तिर्थ्यो, जसको वार्षिक रकम ५७ लाख रुपैयाँको हाराहारीमा मात्र पर्थ्यो।

तर, पछिल्लो केहि समय यता सोहि कोषले थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकको आलिशान भवनमा कार्यालय सारेपछि भाडा खर्च एक्कासी आकाशिएको छ। हाल कोषले महिनाकै २२ लाख ३७ हजार रुपैयाँ भाडा तिर्दै आएको छ, जसको वार्षिक खर्च रकम २ करोड ६८ लाख रुपैयाँभन्दा माथि आउने गरेको छ। यो सबै रकम योगदानकर्ताकै रगत पसिनाको कमाइबाट जान्छ।

घरभाडा तथा कर्मचारीको विलासी सुविधाका लागि करोडौँ खर्चिने कोषले योगदानकर्ताको भने अवमूल्यन गरेको छ। त्यसमाथि तिनै योगदानकर्ताले नियमअनुसार पाउनुपर्ने ऋण सुविधा तथा स्वास्थ्य बीमा सेवा समेत सहज रूपमा पाउन सकेका छैनन्। कोषले सुविधा उपलब्ध गराउने भन्दै भ्रामक प्रचार गर्दै झुक्याइरहेको योगदानकर्ताहरूको गुनासो छ।

सामाजिक सुरक्षाकोष स्रोतका अनुसार संस्थाले वैदेशिक रोजगारीमा जाने श्रमिक र स्वदेशमा कार्यरत कर्मचारीहरूलाई समेत जबर्जस्ती कोषमा आबद्ध हुन बाध्यात्मक अवस्था सिर्जना गरी रकम संकलन बढाएको छ। तर, संकलित रकमको दुरुपयोग गर्दै उच्च अधिकारीहरूले साढे ३ लाख रुपैयाँभन्दामाथि तलब लिँदै आएका छन् भने महँगा तथा विलासी सवारी साधन एवम् महँगा कार्यालय भवन प्रयोग गरिरहेका छन्।

अझै , रोचक पक्ष के छ भने कोषका कार्यकारी निर्देशक कविराज अधिकारी राष्ट्रिय वाणिज्य बैंककै कर्मचारी हुन्। उनी सोही बैंकको ९औं तहको कर्मचारी हुँदा सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक बनेका थिए । अहिले सोही बैंकसँगै स्वार्थ बाझिनेगरी करोडौँको भाडा सम्झौता गरी हितको टकराव (Conflict of Interest) हुने काम गरिरहेको कोषकै कर्मचारीहरु बताउँछन्।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीका अनुसार,- “आम्दानी नथाल्दै योगदानकर्ताकै रकममा यस्तो विलासी खर्च गर्नु अख्तियार दुरुपयोगकै ज्वलन्त उदाहरण हो।”

सामाजिक सुरक्षा कोष स्थापनाको उद्देश्य श्रमिकलाई सुरक्षा र सुविधा दिनु भएपनि, अहिले सुविधा भन्दा बढी आर्थिक भार थपिदिएको र कर्मचारीको मनपरीले कोषलाई भ्रस्टाचारको अखडा बनाएको आरोप लागिरहेको छ।

तर , कोषका कार्यकारी निर्देशकदेखि उच्च पदस्थ अधिकारीहरु भने यस बिषयलाई अस्विकार गर्दै आएका छन्।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलवार १७:५५   :  बजे

585
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।