Logo

अर्थ

सिँचाइका १२ रुग्ण ठेक्का रद्द, थप ४० सडक ठेक्का तोड्ने तयारी



काठमाडौं । लामो समयदेखि अलपत्र रहेका सिँचाइ क्षेत्रका १२ रुग्ण ठेक्का तोडिएका छन् । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २, जलेश्वर महोत्तरीअन्तर्गतका ती ठेक्का सम्झौता गरी पनि काम नगरेका कारण रद्द गरिएको हो ।

यस्तै, बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोड्ने तयारीसमेत गरिएको छ । मन्त्रालयस्तरीय निर्देशनपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले ठेक्का अन्त्यको सूचना जारी गर्दै कार्यसम्पादन जमानत जफत गर्ने र बाँकी कामको मूल्याङ्कन गर्न प्रक्रिया अघि बढाएको जनाएको छ ।

यी ठेक्का आर्थिक वर्ष २०६८/६९ देखि २०७४/७५ बीचमा सम्झौता भएका थिए ।

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया पनि सुरु भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङ्टार, इलाम, हेटौंडा र नेपालगञ्जले आइतबार आफू मातहत रुग्ण अवस्थामा रहेका ४० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

तुम्लिङ्टारले १७, इलामले १२, हेटौंडाले ७ र नेपालगञ्जले ४ ठेक्का गरी ४० ठेक्का ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् । विभिन्न सडक डिभिजन कार्यालयले यसअघि रुग्ण रहेका ६८ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइसकेका छन् ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १०:२०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।