काठमाडाैं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत महामहिम पार्क ते यङबीच भटवार्ता भएको छ ।
सोमबार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चासहित कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरे ।
साथै कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरुको अवस्था सन्तोषजनक रहेको विषय उल्लेख गर्दै कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए ।
भेटको अवसरमा राजदुत पार्कले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकार बीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको र उक्त अवधिमा नेपालले कोरिया र कोइकासंग गरेको समन्वय र सहकार्यका लागि खुशी व्यक्त गर्दै कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरुको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरे ।
साथै, नेपाली कामदारहरुलाई कोरिया रोजगारीका लागि लैजान सहज होस भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको विषय समेत जानकारी गराए ।




















प्रतिक्रिया