Logo

अर्थ

गभर्नरले गरे राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकको सरुवा: खतिवडा ज्वाई र रावलको किन रोके ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरिएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बुधबारदेखि लागू हुनेगरि ११ जना कार्यकारी निर्देशकको सरुवा गरेका हुन् ।

एकैदिन ११ जना कार्यकारी निर्देशकको सरुवा गरेका गभर्नर पौडेलले लामो समयदेखि बैंक सुपरिवेक्षण विभागका प्रमुख रहेका दीर्घ रावललाई भने सरुवा गरेका छैनन् । त्यस्तै पौडेलले पूर्व अर्थमन्त्री युवराज खतिवडाका छोरी ज्वाई रामशरण खरेलको पनि सरुवा गरेका छैनन् ।

गभर्नर हुनासाथ पौडेलले राजनीतिक कित्ता छुट्याएर रावललाई निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा गरी भोलिपल्टै बैंक तथा वित्तीय सँस्था सुपरिवेक्षण विभागको महत्वपूर्ण जिम्मेवारी सुम्पिएका थिए। रावलमाथि पदको दुरुपयोग गरी पटक-पटक राष्ट्र बैंकका सूचना बिक्री गर्दै आईइहेको गम्भीर आरोप छ।

गभर्नर रावललाई डेपुटी गभर्नर बनाउन चाहन्छन्। सोहि अनुसार नै उनले बैँक सुपरिवेक्षणको जिम्मेवारी दिएका थिए। गभर्नर काँग्रेसी हुन् भने रावल पनि काँग्रेस निकट छन् ।

त्यस्तै, खतिवडाका ज्वाई खरेललाई पनि अन्य निर्देशकहरुको बढुवा रोकी कार्यकारी निर्देशक बनाइयो। अर्थमन्त्री खतिवडाका ज्वाईँ भएकै कारण खरेलले अनुसन्धान विभागको महत्वपूर्ण जिम्मेवारी पाए। नियमअनुसार भने खरेल ‘फर्स्ट क्लास अफिसर’ बाटै रिटायर्ड हुनुपर्ने व्यक्ति हुन् ।

साढे १६ महिना अर्थमन्त्री डा. खतिवडाको निजी सचिवालयमा काजमा खटिएका खरेल २०८१ साउन १ गतेदेखि काज फिर्ता भएर राष्ट्र बैंकमा हाजिर भएका थिए । राष्ट्र बैंकको बिराटनगर कार्यालयमा उप निर्देशककोरुपमा कार्यरत हुँदा पनि खरेल २०७४ फागुन १५ गतेदेखि अर्थ मन्त्री खतिवडाको निजी सचिवालयमा काजमा कार्यरत थिए ।

आज सरुवा गरिएका मध्य विदेशी विनिमय व्यवस्थापन विभागमा रहेका रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पुर्‍याइएको छ । उनको ठाउँमा किरण पण्डितलाई ल्याइएको छ । पण्डित यसअघि भुक्तानी प्रणाली विभागमा थिए ।

बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका गुरुप्रसाद पौडेललाई मानव संशाधन व्यवस्थापन विभागमा पुर्‍याइएको छ। पौडेललाई गभर्नरले यसअघि सरुवा गरेका थिएनन्। त्यस्तै, मुद्रा व्यवस्थापन विभागमा रहेका रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी दिईएको छ । त्यसैगरी थापालाई मानव संशाधन विभागबाट वित्तीय संस्था सुपरिवेक्षण विभागमा पुर्‍याएको छ भने मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्मालाई गभर्नरको कार्यालय तानिएको छ ।

कार्यकारी निर्देशन सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभाग, रोशन कुमार सिग्देललाई बैंकिङ विभाग, अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभाग र राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको छ । नेपाल राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक रहन्छन् । तीमध्ये एकैदिन ११ जनाको मात्रै सरुवा गरिएको छ ।

यता, राष्ट्र बैँकको महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीहरुलाई हरेक ६/६ महिनामा सरुवा गर्दै आएका गभर्नर विवादमा तानिएका छन् । गभर्नरले गरेको यो निर्णयप्रति कर्मचारीवृत्तमा व्यापक असन्तुष्टि देखिएको छ। त्यसमाथि आफ्ना महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभन्दा राजनीतिक पहुँच र दलिय कित्ता छुट्याएर कर्मचारी सरुवा बढुवामा अनावश्यक चासो देखाएको भन्दै उनको चौतर्फी विरोध भैरहेको छ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १३:२६   :  बजे

1.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।