नेपाल राष्ट्र बैंक व्यवस्थापनले एकैपटक ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएको भावना समेट्दै र देशको वर्तमान आर्थिक चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै बैंकले यो निर्णय गरेको हो।
राष्ट्र बैंकका अनुसार कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई विदेशी विनिमय व्यवस्थापन विभागबाट सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको छ। कार्यकारी निर्देशक रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागबाट बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाइएको छ।
त्यसैगरी, विश्रुत थापालाई मानव संसाधन व्यवस्थापन विभागबाट वित्तीय संस्था सुपरिवेक्षण विभागमा, दयाराम शर्मालाई मौद्रिक व्यवस्थापन विभागबाट गभर्नरको कार्यालयमा, र गुरुप्रसाद पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मानव संसाधन व्यवस्थापन विभागमा सरुवा गरिएको छ।
कार्यकारी निर्देशक किरण पण्डितलाई भुक्तानी प्रणाली विभागबाट विदेशी विनिमय व्यवस्थापन विभागमा पठाइएको छ भने डा. सत्येन्द्र तिमिल्सिनालाई वित्तीय संस्था सुपरिवेक्षण विभागबाट भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको छ।
त्यस्तै, रोशनकुमार सिग्देललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट बैंकिङ विभागमा, डा. डिल्लीराम पोख्रेललाई बैंकिङ विभागबाट मौद्रिक व्यवस्थापन विभागमा र अनुज दाहाललाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ।
हालै कार्यकारी निर्देशकमा बढुवा भएका राजनविक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पदस्थापन गरिएको छ। यसअघि उनी गभर्नरको कार्यालयमा कार्यरत थिए।
राष्ट्र बैंकले यो सरुवालाई संगठनात्मक कार्यक्षमता अभिवृद्धि र जिम्मेवारी पुनःसंरचनाको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।





















प्रतिक्रिया