Logo

अर्थ

अर्थमन्त्रीसँग लगानीकर्ताको भेट, ‘डबल आईजीन प्रणाली’ कार्यान्वयन गर्न माग



नेपालका पाँच प्रमुख लगानीकर्ता संघ–संस्थाले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेट गर्दै ‘डबल आईजीन प्रणाली (Double ISIN System)’ कार्यान्वयनमा भइरहेको ढिलासुस्ती तुरुन्त अन्त्य गर्न माग गरेका छन्।

मंगलबार अर्थमन्त्रालयमा भएको भेटवार्ताका क्रममा लगानीकर्ता प्रतिनिधिहरूले पूँजी बजारमा देखिएका चुनौती, नियामक निकायबीचको असमञ्जस र कार्यान्वयनमा भइरहेको ढिलाइबारे अर्थमन्त्रीलाई विस्तृत जानकारी दिँदै लिखित ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरूले “पूँजी बजार सुधार सुझाव कार्यदल” ले सिफारिस गरेका बुँदाहरू अझै कार्यान्वयन नहुँदा बजारमा भ्रम र अन्योल फैलिएको बताउँदै तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरे। लगानीकर्ता संघ–संस्थाले प्रस्तुत गरेका प्रमुख मागहरूमा सेबोनको ढिलासुस्ती अन्त्य गरी ‘डबल आईजीन प्रणाली’ कार्यान्वयन, नेप्से र धितोपत्र बोर्डबीचको विवाद तथा हडताल समाधान, संस्थापक सेयर बिक्रीमा चरणबद्ध नीति लागू गर्ने, र TMS तथा CDSC प्रणालीमा देखिएका प्राविधिक समस्या समाधान गर्नुपर्ने विषयहरू सामेल छन्।

अर्थमन्त्री खनालले लगानीकर्ताहरूका सुझाव र मागलाई गम्भीर रूपमा लिँदै तत्काल समन्वय र आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाएका छन्। उनले भने, “सबल पूँजी बजार हामी सबैको साझा प्रयासबाट मात्र सम्भव छ।”

उनले पूँजी बजार सुधारका लागि अर्थ मन्त्रालय पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको भन्दै लगानीकर्ताहरूका सुझावलाई रचनात्मक रूपमा अघि बढाउने आश्वासन दिएका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार ०९:०७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।