काठमाडौँ । नेपाल हस्तकला महासंघले हस्तकला प्रदर्शनी आयोजना गर्न लागेको छ। महासंघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १७ गतेदेखि २१ गतेसम्म प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो।
ललितपुर महानगरपालिकाको सहयोगमा कला तथा संस्कृति महोत्सवको अवसरमा प्रदर्शनी गर्न लागिएको महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए।
नेपाली कला र संस्कृतिको परिचायकको रूपमा रहेका हस्तकला वस्तुको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यबाट पाटन दरबार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा हस्तकला प्रदर्शनी आयोजना गरिने उनले बताए।
उनले स्थानीय उत्पादनलाई स्थानीय तहमा नै खपत गर्नको लागि महानगरको वडा नम्बर १६ सँग सहकार्य गरेर प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार हस्तकला प्रदर्शनीमा करिब २१ वटा क्यानोपी र १० वटा टेबुल स्टल रहने छन्।
ललितपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले वडा नम्बर १६ हस्तकला क्षेत्रको हब भएको बताए। उनले वडामा हस्तकला महासंघसँग मिलेर कला संस्कृतिको क्षेत्रमा वडाले विभिन्न काम गरिरहेको जानकारी दिए।
प्रदर्शनी प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा प्रदर्शनकर्ता तथा आगन्तुकहरूको सुविधाको लागि नेवारी मौलिक खाद्य परिकारका ३ वटा स्टलहरु पनि राखिने महासंघले जनाएको छ।
१६ मंसिर २०८२, मंगलवार २१:२९



















प्रतिक्रिया