Logo

खेलकुद

पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा



काठमाडौं । शाहब आलमले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।

बिहीबार भएको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमान्डुले प्लेअफमा स्थान पक्का गरेको छ ।

लिग चरणमा ७ वटै खेल खेलिसकेको काठमान्डुले ५ जित र २ हारबाट १० अंक जोडेर दोस्रो स्थानमा छ ।

उता ६ खेलमा चौथो हार व्यहोरेको पोखराको ४ अंक मात्र छ र प्लेअफ सम्भावना कठिन बनेको छ ।

काठमान्डु गोर्खाजे दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पूरै २० ओभर खेल्दै १० विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

काठमान्डुका शाहब आलमले २०औं ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । शाहबले ४ ओभरमा २५ रन खर्चेर एक्लै ६ विकेट लिए । यस सिजन उनी ६ विकेट लिने पहिलो खेलाडी समेत बने ।

पोखराका ऋषि धवनले ३१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ५४ रन बनाए । यस्तै धनन्जय लक्षनले ३० रन जोडे ।

धवन र धनन्जय लक्षन मिलेर पाँचौ विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए । लक्षनले २७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा ३० रन जोडे । कप्तान कुशल भुर्तेलले २२ र ज्यासन रोयले १६ रन जोडे ।

बलिङमा काठमान्डुका शाहब आलमले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए । कप्तान करण केसी र सन्नी पटेलले दुई/दुई विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

ओपनर बेन चार्ल्सवले ५५ बलमा ६४ रन बनाए । चार्ल्सवर्थले ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै भीम शार्कीले एनपीएलमा यस सिजन संयुक्त रुपमा सबैभन्दा छिटो १९ बलमा अर्धतशक प्रहार गरे । भीमले २३ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५५ रन बनाए ।

७९ रनमा ५ विकेट गुमाएको काठमान्डुका लागि चार्ल्सवर्थ र भीम शार्की मिलेर छैटौं विकेटका लागि ७६ रनको साझेदारी गरे ।

अर्का ओपनर आकाश त्रिपाठी खाता नखोल्दै आउट भए । त्यसपछि आएका रासिद खान ७ रन जोडेर आउट भए । मिलिन्द कुमार १३ रन बनाएर आउट भए । विकेटकिपर जोन सिम्पसन २ र मोहम्मद आदिल आलम ७ रनमा आउट भए ।

बलिङमा पोखराका लागि धनन्जय लक्षनले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले समान १ विकेट लिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार १५:३६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।