Logo

प्रमुख समाचार

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो



दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको ४०औँ वार्षिकोत्सव विशेष समारोहको आयोजना गरी मनाइएको छ ।

वार्षिकोत्सवका अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित समारोहमा सार्कका महासचिव मोहम्मद गोलाम सरवारले शुभकामना व्यक्त गर्दै सार्कका विशिष्टीकृत निकाय र सार्कका क्षेत्रीय केन्द्रलगायत अन्तर सरकारी संयन्त्र बडापत्रका उद्देश्य साकार पार्ने उद्देश्यले आफ्नो कार्यदिशामा सक्रिय रुपमा लागिपरिरहेको उल्लेख गरे ।
यसका अतिरिक्त, सार्कका पर्यवेक्षक मुलुकहरु र विकास साझेदारसँगको सहकार्यले पनि निरन्तरता प्राप्त गर्दै आएको उनको भनाइ छ ।

‘सार्क मानवताको एक चौथाइ हिस्सा बोकेको दक्षिण एशियाली क्षेत्रबीच सहकार्यको भावनालाई प्रतिबिम्बित गर्दै एकता र उत्थानशीलताको प्रतीकका रुपमा उदाएको छ’, महासचिव सरवारले भने, ‘म विश्वस्त छु कि आगामी वर्षले हामीलाई हाम्रा साझा चुनौतीलाई सम्बोधन गर्दै प्रचुर सम्भावनाको सदुपयोग गर्ने उद्देश्यले आपसी सहकार्यका लागि थप अवसर प्रदान गर्नेछन् र एकीकृत र समृद्ध दक्षिण एसियाको हाम्रो सपना साकार पार्न सार्क हामी सबैको तर्फबाट काम गर्न अझ सशक्त हुनेछ ।’

दक्षिण एसियाका जनताको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अभिप्रेरित भई सार्कको तत्त्‍वावधानमा सञ्चालन गरिएका क्षेत्रीय सहयोग व्यापक र बृहत्तर रहेको उनको भनाइ छ ।

महासचिव सरवारले गरिबी निवारण, आर्थिक र व्यापारिक विकास, कृषि, शिक्षा, विज्ञान र प्रविधि, ऊर्जा, संस्कृति, क्षेत्रीय सम्पर्क, पूर्वाधार विकासजस्ता क्षेत्रमा प्रयास केन्द्रित रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार ०८:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।