Logo

प्रमुख समाचार

भिजिट भिसा प्रकरण: पूर्वगृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान हुने



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान गर्ने भएको छ । भिजिट भिसा प्रकरणमा अख्तियारले घुस रिसवत र सम्पत्ति शुद्धीकरणमा दुई छुट्टाछुट्टै अभियोगमा तत्कालीन विमानस्थल अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले त्यतिबेलाका गृहमन्त्री रमेश लेखकको हकमा भने छुट्टै अनुसन्धान गर्नुपर्ने भनी अभियोग पत्रमा उल्लेख छ ।

अख्तियारले भिजिट भिसा प्रकरणमा विशेष अदालतमा पेश गरेको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन महानिर्देशक, शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख रामचन्द्र तिवारी लगायतसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने भन्दै बदनियत सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको जनाएको हो । उसले गृह मन्त्रालयको प्रशासन हेर्ने महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवको सचिवालय र अन्य कर्मचारीको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ ।

अख्तियारका अनुसार, त्यतिबेला अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका सहसचिव तीर्थराज भट्टराईको साथबाट डायरी बरामद भएको थियो । अनि अख्तियारले उनको कल डिटेल्स रेकर्ड पनि हेरेको थियो ।

डायरी तथा कल डिटेल्स रेकर्डबाट अस्वभाविक सम्पर्कमा आएका भन्दै अख्तियारले विशेष अदालतमा गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी, स्वकीय सचिव जनक भट्ट अनि अध्यागमन विभागका महानिर्देशक, शान्ति सुरक्षा महाशाखा प्रमुख, अध्यागमन हेर्ने महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, शाखा प्रमुख लगायतमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार १७:१८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।