झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म अलैँची निर्यात उल्लेख्य रूपमा बढेको छ। कार्यालयका अनुसार उक्त अवधिमा अलैँची निर्यात ४१.५८ प्रतिशतले वृद्धि भई रु १० अर्ब ७० करोड सात लाख १८ हजार पुगेको छ।
सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आवको नौ महिनामा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा रु छ अर्ब २५ करोड १२ लाख ६१ हजारबराबरको अलैँची निर्यात भएको थियो।
यस्तै, चियाको निर्यात भने घटेको छ। कार्यालयको तथ्याङ्कअनुसार चालु आवको नौ महिनामा चियाको निर्यात २६.७३ प्रतिशतले कमी आई रु दुई अर्ब ५८ करोड १९ लाख ८५ हजारमा सीमित भएको छ। अघिल्लो आवको सोही अवधिमा चिया निर्यात रु तीन अर्ब २७ करोड २० लाख ७२ हजार रहेको हुमागाईँले जानकारी दिए।
निर्यात हुने अन्य प्रमुख वस्तुमा भेनियर सिट ३०.८८ प्रतिशत र छुर्पी ३०.३५ प्रतिशतले बढेका छन्। तर प्लाइउड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशत, फलामे पाता १ हजार ७४७.८१ प्रतिशत र मोलासिस ३६१.३५ प्रतिशतले वृद्धि हुँदा सिमेन्ट क्लिङ्करको निर्यात भने शतप्रतिशतले घटेको छ।
मेची भन्सार कार्यालयका अनुसार चालु आवको चैत मसान्तसम्म कुल रु १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजारबराबरको मालवस्तु निर्यात भएको छ।





















प्रतिक्रिया