झापा ।चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोडभन्दा बढी मूल्यका पेट्रोलियम पदार्थ आयात भएका छन्।
मेची भन्सार कार्यालयका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, हवाई इन्धन (एटीएफ) र कोइला आयात भएको हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै रु ७ अर्ब ४४ करोड ७८ लाखभन्दा बढी राजस्व सङ्कलन भएको जानकारी दिए।
कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म रु ७ अर्ब ७५ करोड ९४ लाख बराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ। त्यस्तै, रु ५ अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल भित्रिएको छ।
यसैगरी, रु १ अर्ब ९० करोड ५९ लाख बराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास आयात भएको छ भने रु ५७ करोड ५१ लाख मूल्यबराबरको ५ हजार ९८८ किलोलिटर हवाई इन्धन (एटीएफ) आयात गरिएको छ। कोइलातर्फ रु ७० करोड १२ लाख बराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन आयात भएको भन्सार कार्यालयले जनाएको छ।





















प्रतिक्रिया