काठमाडौं । समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता जेठको पहिलो साताबाट सुरु हुने भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रम गरी आफ्ना कार्ययोजना सार्वजनिक गरेको हो । जसअनुसार जेठको पहिलो साताबाट माग दाबीकर्ता बचतकर्ताको बचत फिर्ता गर्ने कार्य आरम्भ हुने उल्लेख छ ।
समितिले वैशाख ९ देखि कार्य प्रारम्भ गर्दै करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रूपैयाँ फिर्ता गर्न बाँकी रहेको जनाएको छ ।
समितिकाअनुसार हालसम्म सरकारबाट चक्रीय कोषमार्फत २६ करोड रूपैयाँ सापटी लिइएको छ भने ऋणीहरूबाट करिब ६० करोड रूपैयाँ कर्जा असुल भइसकेको छ ।
त्यस्तै माग दाबी छुट भएका बचतकर्तालाई माग दाबी गर्नका लागि आगामी साउनको पहिलो साता समय खुला गरिने समितिले जनाएको छ । कर्जा असुलीका लागि समितिले कानुनबमोजिम अब कठोर नीति अवलम्बन गर्ने जनाएको छ ।
त्यस्तै किस्ताबन्दीका साथ कर्जा भुक्तानी गर्न लिखित प्रतिबद्धता व्यक्ति गर्दै निश्चित कर्जा रकम दाखिला गर्ने ऋणीलाई यथोचित समय उपलब्ध गराउने, नतिर्ने ऋणीको तीनपुस्ते नामावली प्रकाशनको कार्य र परिवारका सदस्य समेतको नाम कालोसूचीमा समावेश गर्ने समितिले चेतावनी दिएको छ ।





















प्रतिक्रिया