Logo

अर्थ

सहकारीपीडितलाई बचत फिर्तामा कोशी प्रदेश अगाडि



विराटनगर । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशले समस्याग्रस्त घोषणा गरिएको अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता तथा ऋण असुली कार्यलाई तीव्र बनाएको जनाएको छ ।

समितिका सदस्य जीवन काफ्लेका अनुसार दोस्रो चरणको बचत फिर्ता प्रक्रिया अन्तर्गत २० हजार रुपैयाँभन्दा माथि र १ लाख रुपैयाँभन्दा कम बचत भएका ३३९ जना बचतकर्तालाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले रकम फिर्ता प्रक्रिया अघि बढाइएको छ ।

यसअघि पहिलो चरणमा २० हजार रुपैयाँभन्दा कम बचत भएका ३१२ जना बचतकर्तालाई रकम भुक्तानी गरिसकिएको समितिले जनाएको छ ।
समितिका अनुसार बचतकर्ताको रकमबाटै हालसम्म २ करोड ५२ लाख ४४ हजार रुपैयाँ बराबरको ऋण मिलान गरिएको छ ।

समितिका अध्यक्ष भरतबहादुर थापाले आगामी दिनमा ऋण असुली कार्यलाई अझ प्रभावकारी बनाउँदै बचत फिर्ता प्रक्रियालाई थप सहज बनाइने बताए ।

समितिले हालसम्म कुल ३ करोड ५० लाख ८१ हजार रुपैयाँ बराबरको रकम बचतकर्तालाई फिर्ता गरिसकेको जनाएको छ ।

कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई प्राथमिकतामा राख्दै कार्य अघि बढाएको भन्दै समितिले सहकारीपीडितलाई राहत दिने काममा प्रदेश अन्य क्षेत्रभन्दा अगाडि रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार १८:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।