Logo

अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनीबीच अमेरिकी प्रस्ताव अध्ययन गर्दै इरान



काठमाडौं ।  अमेरिका र इरानबीच दुई महिनादेखि जारी सैन्य तनाव अन्त्य गर्ने उद्देश्यले नयाँ कूटनीतिक पहल सुरु भएको छ । युद्धविरामलाई स्थायी सहमतिमा रूपान्तरण गर्ने प्रयास भइरहेका बेला अन्तर्राष्ट्रिय बजारमा पनि केही राहतको संकेत देखिएको छ ।

ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १०० डलर आसपास स्थिर भएको छ । लगानीकर्ताहरूले हर्मुज जलघाँटी पुनः पूर्ण रूपमा सञ्चालनमा आउने र तेल तथा प्राकृतिक ग्यासको आपूर्ति सामान्य बन्ने अपेक्षा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध ‘चाँडै अन्त्य हुन सक्ने’ बताएका छन् । उनले इरानले अमेरिकी प्रस्ताव स्वीकार गरे तेल तथा ग्यास ढुवानी पुनः सुचारु हुने उल्लेख गर्दै अस्वीकार गरे थप सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन् ।

“यदि उनीहरू सहमत भएनन् भने बमबारी सुरु हुन्छ,” ट्रम्पले लेखेका छन् । सम्भावित आक्रमण पहिलेभन्दा ‘अझ तीव्र र उच्च स्तरको’ हुने दाबी पनि उनले गरेका छन् ।

युद्धका क्रममा ट्रम्प प्रशासनको रणनीति र सार्वजनिक अभिव्यक्ति बारम्बार फेरिएको भन्दै आलोचना पनि भइरहेको छ । विशेषतः हर्मुज जलघाँटी खुलाउने अमेरिकी योजनाबारे ह्वाइट हाउसका फरक–फरक धारणा सार्वजनिक भएपछि अमेरिकी नीति अस्थिर देखिएको विश्लेषण गरिएको छ ।

हाल इरानले हर्मुज जलघाँटी प्रभावकारी रूपमा नियन्त्रणमा राखेको छ । विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने उक्त जलमार्ग हुँदै तेल, ग्यास र पेट्रोलियमजन्य पदार्थ विश्व बजारमा पुग्ने गर्छन् । अमेरिकाले भने इरानी बन्दरगाहमाथि नाकाबन्दी कायम राखेको छ ।

बुधबार अमेरिकी सेनाले ओमानको खाडीमा इरानी तेल ट्यांकरमाथि कारबाही गरेको जनाएको थियो । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार नाकाबन्दी तोड्ने प्रयास गरेपछि लडाकू विमानले ट्यांकरको बाहिरी भागमा गोली प्रहार गरेको थियो ।

यसबीच ट्रम्पले इरानी नेतृत्व युद्ध अन्त्यका लागि इच्छुक रहेको दाबी गरेका छन् । उनले ‘सम्झौता गर्न चाहने पक्षसँग छलफल भइरहेको’ उल्लेख गर्दै अमेरिका आफ्ना सर्तमा सहमति गराउन सक्षम हुने संकेत दिएका छन् ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार ह्वाइट हाउसले सम्भावित सम्झौताका लागि एक पृष्ठको प्रारम्भिक ज्ञापन तयार पारेको छ । प्रस्तावमा इरानको युरेनियम संवर्द्धन कार्यक्रम रोक्ने, अमेरिकी प्रतिबन्ध हटाउने, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्ने तथा हर्मुज जलघाँटी खुला गर्ने विषय समावेश रहेको जनाइएको छ ।

तर ह्वाइट हाउसले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले भने एक्सियोसले उल्लेख गरेका प्रस्तावहरू ‘कडा रूपमा अस्वीकार’ गरिएको बताएका छन् । यद्यपि उनले पछिल्लो अमेरिकी प्रस्ताव अध्ययनकै क्रममा रहेको स्वीकार गरेका छन् ।

यसअघि अमेरिकाले ‘प्रोजेक्ट फ्रिडम’ नाम दिएर हर्मुज जलघाँटी हुँदै व्यापारिक जहाजलाई सुरक्षित मार्ग उपलब्ध गराउने योजना अघि सारेको थियो । तर मंगलबार ट्रम्प प्रशासनले उक्त योजना अस्थायी रूपमा स्थगित गरेको थियो ।

अमेरिकी सुरक्षामा सञ्चालित मार्ग खुलाइएपछि सोमबार दुई अमेरिकी झण्डावाहक व्यापारिक जहाज मात्रै जलघाँटी पार गर्न सफल भएका थिए । अमेरिकी सेनाले नागरिक जहाजलाई धम्की दिएको आरोप लगाउँदै इरानका छवटा साना डुङ्गा डुबाइएको दाबी पनि गरेको छ ।

हाल सयौँ व्यापारिक जहाज पर्सियन खाडी क्षेत्रमा रोकिएका छन् । हर्मुज जलघाँटी बन्द भएपछि ती जहाज खुला समुद्रसम्म पुग्न सकेका छैनन् । यसले विश्वव्यापी इन्धन मूल्यमा दबाब बढाएको छ भने विश्व अर्थतन्त्रमा समेत असर पारेको छ ।

विश्वकै ठूलो ढुवानी कम्पनीमध्ये एक हापाग–लोयडले जलघाँटी बन्द हुँदा हरेक साता करिब ६ करोड डलर अतिरिक्त खर्च भइरहेको जनाएको छ । बढ्दो इन्धन मूल्य र बीमा शुल्कका कारण व्यापारिक ढुवानी क्षेत्र प्रभावित भएको कम्पनीको भनाइ छ ।

यसैबीच चीनले युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा रूपान्तरण गर्न आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गर्दै द्वन्द्वप्रति चीन ‘गहिरो रूपमा चिन्तित’ रहेको बताएका छन् ।

चीन र इरानबीचको निकट आर्थिक तथा राजनीतिक सम्बन्धका कारण बेइजिङ अहिलेको संकट समाधानमा प्रभावशाली भूमिका खेल्न सक्ने आकलन गरिएको छ । ट्रम्प प्रशासनले पनि चीनलाई इरानमाथि प्रभाव प्रयोग गरी हर्मुज जलघाँटी खुलाउन आग्रह गरिरहेको छ ।

अराघचीको चीन भ्रमण अमेरिकी राष्ट्रपति ट्रम्पको आगामी बेइजिङ भ्रमणअघि भएको हो । ट्रम्प मे १४–१५ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने उच्चस्तरीय शिखर सम्मेलनमा सहभागी हुने तयारीमा छन् ।

इरानी विदेशमन्त्री अराघचीले आफ्नो चीन भ्रमणका क्रममा इरानको आणविक कार्यक्रम, हर्मुज जलघाँटी र सम्भावित कूटनीतिक समाधानबारे विस्तृत छलफल भएको बताएका छन् । उनले तेहरान आफ्नो रणनीतिक हित सुरक्षित रहने अवस्थामा मात्रै कुनै सम्झौतामा जाने संकेत दिएका छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारबाही थालेपछि सुरु भएको द्वन्द्वले विश्व ऊर्जा बजार, समुद्री व्यापार र क्षेत्रीय सुरक्षामा व्यापक असर पारेको थियो । अप्रिल ८ देखि औपचारिक युद्धविराम कायम रहे पनि स्थायी समाधानका लागि जारी वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार २०:३७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।