Logo

विविध

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श



काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सञ्चालन गरिएको निःशुल्क जलन उपचार शिविरबाट ८५ जनाले उपचार तथा परामर्श सेवा लिएका छन्।

नबिल बैंक लिमिटेड को आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पताल को सहकार्यमा वैशाख २५ देखि २८ गतेसम्म शिविर सञ्चालन गरिएको हो।

बैंकका अनुसार शिविरका क्रममा २५ जनाको शल्यक्रिया गरिएको थियो। जसमध्ये जटिल अवस्थाका १२ बिरामीलाई थप उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क उपचार तथा परामर्श सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

जलनका बिरामीलाई तत्काल र विशेष उपचार आवश्यक पर्ने भए पनि धेरै स्थानमा उपचार केन्द्रको अभावका कारण समयमै गुणस्तरीय सेवा नपाइने अवस्था रहेको बैंकको भनाइ छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली ले स्रोतको अभावका कारण उपचारको पर्खाइमा रहेका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको बताए। उनका अनुसार बैंकले चार प्रदेशमा सञ्चालन गरेका यस्ता शिविरमार्फत करिब पाँच सय जनाले निःशुल्क उपचार तथा परामर्श सेवा लिइसकेका छन्।

यसअघि बैंकले सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा पनि यस्ता शिविर सञ्चालन गरिसकेको जनाएको छ।

प्रतिष्ठानका निमित्त निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइली ले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनसम्बन्धी विशिष्ट सेवा उपलब्ध नभएको अवस्थामा शिविरले बिरामीलाई ठूलो राहत दिएको बताए।

उनले जलनका बिरामीको पीडा कम गर्न सहयोग गर्ने स्वास्थ्यकर्मी तथा आर्थिक सहयोग गर्ने नबिल बैंकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने अपेक्षा गरे।

यसअघि मधेश प्रदेशमा वैशाख १७ गतेदेखि सञ्चालन गरिएको चारदिने शिविरबाट १५० जनाले सेवा लिएका थिए। यस्तै, फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन गरिएको शिविरमा ६५ जना तथा चैत २७ गतेदेखि सुर्खेतमा सञ्चालन गरिएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका थिए।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलवार २०:०९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।